Hamro Patra
किराना पसले बने करोडौंका उद्योगपति

टीकापुर, जेठ २८
कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखी उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो ।

जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे ।

सानै उमेरदेखी मेहनती उनको किराना पसल खुब फस्टायो । उनले चिसापानीमै होटल खोले । तत्कालिन माओवादी द्वन्द्वका क्रममा होटलमा क्षती पुग्यो । उनी चिसापानी छोडेर लम्की पुगे । उनले लम्कीमा व्यवशाय सुरु गरे । व्यवशायका क्रममा केही रकम जुटाईसकेका थिए । उनको मनमा उद्योग खोल्ने योजना बन्यो । उनले २० वर्षअघि लम्कीमा डल्फिन खाद्य उद्योग खोले । त्यहाँ चामल उत्पादन हुन थाल्यो । उद्योगले विस्तारै गति लियो । केही ठाउँमा भाडामा समेत उद्योग सञ्चालन गरे ।

Khadga Memorial And Janajagriti

उनले चामल उद्योग भएकै ठाउँमा १२ वर्षअघि अर्को उद्योग सुरु गरे । त्यो थियो डल्फिन दाना उद्योग । त्यहाँ कुखुराको दाना उत्पादन हुन थाल्यो । दाना उद्योगले उनलाई आर्थिक रुपमा माथि उकास्यो । तत्कालिन सुदूर र मध्यपश्चिमका जिल्लामा डल्फिन दाना उद्योगले निकै बजार ओगट्यो ।

उनी डल्फिन दाना उद्योगको सफलतासँगै उत्साहित बने । उनले उद्योग विस्तार गर्ने योजना बनाए । त्यसका लागि लम्कीमा रहेको ठाउँ साँघुरो भयो । कैलालीका विभिन्न ठाउँमा जग्गा खोजे तर पाएनन् । प्रस्तावित डुँडेझारी औद्योगिक क्षेत्र स्थापनाको बाटो कुरे । उनी आफै पनि औद्योगिक क्षेत्र स्थापनाका लागि निकै दौडिए । तर औद्योगिक क्षेत्र स्थापनाको टुङ्गो लागेन । समय घर्किदै गएपछि उनी कुरेर बस्न सकेनन् ।

उनले यतिबेला बाँकेको कोहलपुर नगरपालिका–७ मा आफ्नो उद्योग विस्तार गरेका छन । करिव २५० करोडको लागतमा उद्योग स्थापना भैरहेको छ । त्यहाँ कुखुरा र गाईवस्तुको दाना, चामल र मैदा उत्पादन हुनेछ ।

उनका अनुसार यो दाना उद्योग नेपालकै सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा १५० क्विन्टल दाना उत्पादन गर्नेछ । उनले उद्योग सञ्चालनमा आउने बित्तिकै बजार क्षेत्र देशब्यापी बनाउने योजना सुनाए । ‘अहिले तीन प्रदेशमा रहेको हाम्रो बजार देशभर फैलिने छ’ उनले भने–‘हामी गुणस्तरीय दाना उत्पादन गर्नेछौं ।’

उनका अनुसार चामल उद्योग पश्चिम नेपालको सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा ८० क्विन्टल चालम उत्पादन गर्नेछ । उनको मैदा उद्योगको क्षमता समेत सोही हाराहारीको हुनेछ । उनका तेल, चिउरा, दाल उत्पादन गर्ने उद्योग समेत स्थापनाको क्रममा छन । ‘अबको छ महिना भित्र सबै उद्योग सञ्चालनमा आउने छन’ उनले भने–‘करिव ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।’

उनले कुखुराको मासु भण्डारणका लागि कोहलपुरमै एकसय टन क्षमताको कोल्ड स्टोर स्थापना गरेका छन । त्यो अझै सञ्चालनमा आउन सकेको छैन । उनका अनुसार कुखुरा काट्ने अत्याधुनिक मेसिन जडानमा ढिलाई भएकाले कोल्ड स्टोर सञ्चालनमा ढिलाई भएको हो । उनले कुखुरा काटेर हरेक पसल पसलमा पुर्याउने व्यवस्था गरिने जानकारी दिए ।

उनको नेतृत्वमा चार भाई र आठ छोरा दिनरात सकृय छन । सयौंको संख्यामा कर्मचारी राखेका छन । उनका अनुसार उद्योग पूर्ण रुपमा सञ्चालनमा आए १ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन । अप्रत्यक्ष रोजगारी प्राप्त गर्नेको संख्या यो भन्दा धेरै हुनेछ ।

उनले २ महिना चीनमा बसेर उद्योग सञ्चालन सम्बन्धी अनुभव बटुलेका छन । उनी त्यो अनभुवलाई व्यवहारतः कार्यान्वयन गर्न चाहन्छन । उनलाई राज्यका तर्फबाट भैरहेको व्यवहार चित्त बुझेको छैन । उनी राज्यले उद्योगीलाई सघाउने भन्दा पनि हतोत्साहित पार्ने खालको व्यवहार गरेको बताउँछन । ‘राज्यले दुःख दिने बाहेक अरु काम गरेको छैन’ उनले भने–‘गर्छु भनेको कुरा मात्रै गरिदिए धेरै हुन्थ्यो ।’

उनले उद्योगसम्म पुग्ने बाटो आफै निर्माण गरेका छन । सरकारले बिजुली पुर्याउने भनेको धेरै समय बितिसक्यो । तर अहिलेसम्म बिजुली पुगेको छैन । जेनेटरकै भरमा उद्योग स्थापनाको काम भैरहेको छ ।

उनी उद्योग स्थापना भैसकेपछिका समस्याका बारेमा समेत जानकार छन । उनका अनुसार एकातिर बजारको समस्या अर्कोतिर कच्चा पदार्थको अभाव रहनेछ । उनले ९० प्रतिशत कच्चा पदार्थ बाह्य मुलुकबाट आउने गरेको बताए ।

उनले दाना उद्योगका लागि आवश्यक पर्ने मकै आफ्नै देशमा उत्पादन गर्ने सोच बनाए । उनले मकै खेतीको प्रवद्र्धनका लागि अभियान सुरु गरे । त्यसले १० प्रतिशत मात्रै आपूर्ती रोकियो । उनी ठूलो मात्रामा मकै उत्पादन गर्न आफै मकै खेती गर्ने योजनामा छन । उनका अनुसार त्यसका लागि ५०० विगाह जमिनको खोजी भैरहेको छ । ‘अब अरुको भर परेर हुँदैन’ उनले भने–‘जे गर्ने हो आफै गर्नुपर्छ ।’

उनको आगामी योजना ठूलो चिनी मिल (उद्योग) खोल्ने छ । उनले पश्चिम नेपालका पाँच जिल्लालाई लक्षित गरेर बर्दियाको राजापुरमा चिनी मिल खोल्ने तयारी भैरहेको बताए ।

सानो लगानीमा व्यवशाय सुरु गरेर करौडौंका उद्योग सञ्चालन गरिरहेका थापा राजनीति पनि गर्छन । उनी हाल जिल्ला समन्वय समिति कैलालीका संयोजक पनि हुन । उनी समाजसेवाका क्षेत्रमा समेत सकृय छन ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update