Hamro Patra
मृतक कोरोना संक्रमितको परिवारलाई नगरपालिकाको राहत

टीकापुर, जेठ १४

दोश्रो लहरको कोरोना संक्रमणका कारण ज्यान गुमाउनेका परिवारलाई कैलालीको टीकापुर नगरपालिकाले किरिया खर्च उपलब्ध गराउन थालेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई घरदैलोमै गएर नगरपालिकाले १० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउन थालेको हो ।

मृतकका घरमै पुगेर नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रकाशकीय अधिकृत, वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुको टोलीले राहत रकम उपलब्ध गराउन शुरु गरेको हो ।

Khadga Memorial And Janajagriti

कोरोना महामारीबाट ज्यान गुमाएका परिवारको दुःखमा स्थानीय सरकार सँगै रहेको सन्देश दिन घरदैलोमै पुगेर उक्त रकम दिन शुरु गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

‘संक्रमणबाट ज्यान गुमाएका परिवार समेत संक्रमित छन्, उनीहरुलाई सामाजिक, मानसिक समस्याहरु देखा परिरहेका छन्’ नगर प्रमुख रावलले भने ‘यस्तो बेलामा हामी स्वयम् घरदैलोमै पुगेर भेटघाट गर्दै थोरै भए पनि सहयोग गरिरहेका छौं ।’ यसले मृतकका परिवारलाई थोरै भए पनि राहत पुग्ने उनले बताए ।

मृतक परिवारको अवस्था, समस्या आदि बारे जानकारी लिन समेत उनीहरुका घरमै पुग्न थालेको नगर उपप्रमुख केशरी विष्टले बताइन् ।

नगरपालिकाले गत सातादेखि नै कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका संक्रमितहरुका घरमा औषधीसहित स्वास्थ्यकर्मीबाट परामर्श दिइरहेको छ ।

संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या, मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्श समेत दिन थालिएको हो । ‘संक्रमित भएर सामान्य समस्या भएकालाई आवश्यक परामर्श घरमै पुगेर दिने, जटिल समस्या भएकालाई चिकित्सकको सहयोगमा उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म पुर्याउन मद्दत गर्दै आएका छौं’ जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भने ‘यस्तो विपत्तीमा सबैभन्दा पहिले उनीहरुको आत्मविश्वास बढाउने, सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य महत्वपूणर् हो, हामी त्यही गरिरहेका छौं ।’

नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले संक्रमितको घरमै पुगेर स्वास्थ्य सल्लाह दिनुका साथै स्वास्थ्य सामग्री समेत दिने गरेको छ । ‘मास्क, सेनिटाइजर, थर्मोमिटर, फ्लोर क्लिनिर, पियुस, साबुन, ज्वरोको औषधी दिन्छौं’, संयोजक रावलले भने ‘यो कार्यक्रम अन्र्तगत संक्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।’

दोश्रो लहरको कोरोना संक्रमण फैलिएपछि टीकापुर नगरपालिकाका ३० जना बढीको ज्यान गइसकेको छ । समुदायस्तरमा कोरोना फैलिएपछि चेन बे्रकका लागि समेत नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update