Hamro Patra
टीकापुरमा चोरीका घटना बढेः सुरक्षा व्यवस्था कमजोर

टीकापुर, जेठ १३

कैलालीको टीकापुर बजार क्षेत्रमा पछिल्ला केही दिनयता चोरीका घटनामा बढेका छन् । कोरोनाको दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाको मौका छोपी एक समूहले पसलहरुमा चोरी गर्दै आएको छ ।

रातिको समयमा मुख्य बजार क्षेत्रका विभिन्न पसलहरुमा लगातार चोरी हुन थालेपछि यहाँका व्यवसायीहरु चिन्तित बनेका छन् । एकपछि अर्को गर्दै लगातार पसलहरुमा चोरी हुनुले मुख्य बजार क्षेत्रमै सुरक्षा व्यवस्था कमजोर भएको व्यवसायीहरुले बताएका छन् ।

Khadga Memorial And Janajagriti

बुधवार राति मात्रै नगरपालिकाको सपिंग कम्प्लेक्स भवनमा रहेका दुई फरक फरक पसलमा चोरी भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसारले मुख्य बजार क्षेत्रमा रहेको सुतारी मोबाइल ग्यालरी र रितुराज फेन्सी पसलबाट बुधवार राति चोरी भएको हो ।

मोबाइल, नगद तथा अन्य सामान र फेन्सी कपडाहरु सटरको पाता खोलेर चोरी भएको बताइएको छ । दुई साता यता मात्रै बजार क्षेत्रमै रहेको आरोग्य मेडिकल हल, वैद्य सपिंग सेन्टर, अर्को जुत्ता पसलमा एक प्रकृतिको चोरी भएको छ ।

चोरीमा संलग्न समूहले पसलका सटरहरुको बिचबाट पाता निकालेर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले बताए । डिएसपी न्यौपानेले लकडाउनमा प्रहरी व्यस्त भएको मौका छोपी चोरी गर्ने गरेको बताए । उनले चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गर्दै आफन्तको जिम्मा लगाएको बताए ।

यता, व्यवसायीले भने एउटै प्रकृतिले चोरीका घटना हुँदा समेत प्रहरीले सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाएका छन् । टीकापुर उद्योग वाणिज्य संघका महासचिव तपेन्द्र स्वाँरले भने ‘ताला समेत नफोडी सटरको बिचको पाता निकालेर चोरी भइरहेको छ, यसमा समूह नै हुनसक्छ, अहिलेसम्म कोही पक्राउ परेको छैन ।’ महासचिव स्वाँरले निषेधाज्ञाकै बेला पसलहरुमा बारम्बार चोरी हुनु गम्भीर विषय भएको बताए ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चक्रपाणी सापकोटाले चोरीका घटना बढेपछि विहीवार प्रहरी कार्यालयमा पुगेर सुरक्षाको व्यवस्था कडा पार्न ध्यानाकर्षण गरिएको बताए । ‘हामीले प्रहरीको ध्यानाकर्षण गराएका छौं, उहाँहरुले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गर्ने आश्वासन दिनु भएको छ’ सापकोटाले भने ‘निषेधाज्ञामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न समेत हामीले प्रहरीसँग माग गरेका छौं ।’

चोरी भएका पसलहरु इलाका प्रहरी कार्यालयदेखि ५ शय मिटरको पेरिफेरिमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update