Hamro Patra
राष्ट्रपति र प्रधानमन्त्रीले संविधान उल्लंघन गरेः देउवा

टीकापुर, जेठ १३
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यतिबेला सञ्चारमाध्यमले आवाज बुलन्द पार्नुपर्ने बेला भएको बताएका छन । नेपाल प्रेस यूनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको उल्लंघन गरेको बताए ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले देशमा राजनीतिक संकट पैदा गरेको आरोप लगाउँदै उनीहरुको मनपरीतन्त्रका कारण प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताए ।

उनले प्रधानमन्त्रीमा आफ्नो दावीलाई निर्दलीय भन्नेहरुलाई नेपालको संविधान पढ्न आग्रह गरे । उनले संविधानमा उल्लेख प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत जुटाएर प्रधानमन्त्री हुनसक्ने व्यवस्थाका आधारमा आफूले प्रधानमन्त्रीको दावी गरेको बताए ।

Khadga Memorial And Janajagriti

उनले प्रयाप्त बहुमत सदस्यहरुको लिखित मागलाई वेवास्ता गर्दै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेका वर्तमान प्रधानमन्त्रीलाई नै पुनः नियुक्त गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको दावी गरे ।

उनले सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुने कुरामा काँग्रेस विश्वस्त रहेको बताए । उनले संसद पुर्नस्थापना हुने दावी गरे ।

उनले कोरोनाको जोखिमका कारण आफूहरु संविधान उल्लंघन विरुद्ध सडक आन्दोलनमा जान नसकेको बताए । उनले यस्तो बेलामा सडक आन्दोलनमा गए अर्को दुर्घटना निम्तिने खतरा रहेको बताए ।

‘जनताको जीवन ठुलो कुरा हो’ उनले भने–‘सडकमा जानुपर्ने दवाव छ तर मैले नै रोकेर राखेको छुँ । जनताको जीवन भन्दा ठूलो कुरा अरु हुन सक्दैन ।’

उनले आफू पार्टीको महाधिवेशन गर्ने पक्षमा रहेको बताए । उनले कोरोना लगायतका कारण महाधिवेशन समयमा हुन नसकेको बताए । ‘म महाधिवेशन गरेन भन्ने कलंक लगाउन चाहन्न’ उनले भने–‘कोभिडले समस्या पारेको छ । यो कुरा सबैले बुझ्नु भएकै छ ।’

उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर उपयुक्त उपाय निकाल्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रको रक्षा अहिलेको आवश्यकता भएको बताए । उनले लोकतन्त्र र राष्ट्रको रक्षाको जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टले बहुमतको सरकार चलाउन नसकेर काँग्रेसको काँधमा जिम्मेवारी सुम्पिन खोजेपछि मात्रै काँग्रेस नेतृत्वका लागि अग्रसर हुन खोजेको बताए । उनले काँग्रेसलाई तत्काल सत्तामा जाने कुनै हतार नरहेको प्रष्ट पारे ।

‘काँग्रेसले पाँच वर्षसम्म प्रतिपक्षको जिम्मेवारी पाएको हो । हामीलाई यो कुरा प्रष्ट थाहा छ’ उनले भने–‘तर उनीहरुले सत्ता चलाउन नसकेपछि जिम्मेवारीका लागि अघि सरेको हो ।’

यूनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको बैठकमा देशैभरका यूनियन आवद्ध पत्रकार, काँग्रेस नेता, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update