Hamro Patra
दुःखको पहाडले थिचिएकी मुना

टीकापुर, जेठ १०

मुना थापा (३०) को बाल्यकाल हाँसीखुशी नै थियो । बुवा प्रहरीको जागिरे । आमाले घरधन्दा सम्हालेकी थिईन । दुईजना दाजुभाई थिए । कैलालीको चौमालास्थित राजीपुरमा रहेको सानो परिवारको दिनचर्या राम्रैसँगै बितिरहेको थियो ।

बुवाको एउटा गल्तीले उनको परिवारको सबै हाँसोखुशी लुट्यो । बुवाले अर्को बिहे गरे । उनकी आमाका यातनाका दिन सुरु भए । त्यसको मारमा उनी लगायत दाजुभाई पनि परे । उनकी आमाले श्रीमानको यातना सहन सकिनन् । उनी छोराछोरी बोकेर माइती साविक मोहन्याल गाविसको पाल्सा पुगिन ।

Khadga Memorial And Janajagriti

माइतीको अवस्था पनि राम्रो थिएन । उनले जेनतेन छोराछोरीको पालनपोषण गरिन । छोरा हुर्किए पछि पुख्र्यौली थलो प्यूठान फर्किए । उनीहरु दुवैजना अहिले प्यूठानको साविक बिजुली गाविस उदीमा घरजम गरेर बसेका छन । मुना आमासँगै थिईन । गाउँकै विद्यालयमा ५ कक्षासम्म पढिन । त्यो भन्दा माथि पढाउने सामथ्र्य उनकी आमासँग थिएन ।

मुना एकदिन घर छोडेर हिडिन । उनको भेट भारत खटिमा नानकमथ्था उद्यमनगरका दिनेश रानासँग कञ्चनपुरको महेन्द्रनगरमा भयो । उनीहरुबीचको चिनजान माया प्रेममा परिणत भयो । दुवैजनाले बिहे गरे । उनीहरुको वैवाहिक जीवन ५ वर्ष चल्यो । त्यतिञ्जेल मुना १ छोरी र १ छोराको आमा बनिसकेकी थिईन ।

अचानक दिनेशको स्वभाव परिवर्तन भयो । उनले मुनालाई यातना दिन थाले । परदेशको ठाउँमा मुनाको आफ्नो भन्ने कोही थिएन । उनी छोरीलाई दिनेशकै घरमा छोडेर नाबालक छोरा बोकेर हिँडिन ।

उनको जाने ठाउँ आमा बाहेक कहिँ थिएन । आमासँगै एक दुई महिना बसिन । वृद्ध आमाका लागि बोझ बन्नु भन्दा काम गरेर जीवनयापन गर्छु भनेर उनी भारत पसिन । भारतको रत्नागिरीमा आँप टिप्ने काम पाईन । उनी त्यहाँ छ महिना बसिन ।
रत्नागिरी बसाईको क्रममा उनको भेट कैलालीको मसुरीयाका टेक कठायतसँग भयो । एक्लो जीवन बिताईरहेकी मुनालाई टेकले साथ दिने वाचा गरे । उनी टेकको मायामा परिन । उनीहरु दुवैजनाले बिहे गरे । उनीहरुको वैवाहिक जीवन डेढ वर्ष चल्यो । त्यो क्रममा घरमा आउजाउ भैरहन्थ्यो ।

मुनाको पेटमा टेकको भ्रुण हुर्किदै थियो । टेकले पनि दिनेशले झैं यातना दिन थाले । उनी टेकसँग पनि बस्न नसक्ने भईन । गर्भमा हुर्किदै गरेको टेकको चिनो बोकेर उनी अघिल्लो जेठमा फेरी आमाको घरमा फर्किईन । त्यही उनले छोरीलाई जन्म दिईन ।
चिसापानीका हर्कबहादुर रोकामगर सडकमा काम गर्छन । उनी कामको सिलसिलामा मोहन्याल पुगेका थिए । मुनाकी आमा र रोकामगरको चिनजान भयो । रोकामगरले मुनाकी आमासँग आफू बिहे गर्ने सोचमा रहेको बताए । मुनाकी आमालाई ‘ढुंगा खोज्दा देउता भेटिए’ जस्तै भयो । उनले आफ्नी छोरीसँग बिहे गर्न सुझाव दिईन । रोकामगर सहमत भए । तर सुत्केरी अवस्थामा रहेकी मुना भने यस कुरामा सहमत भईनन् ।

आमाले भनेको नमाने घरबाट निस्किन भन्दै दवाव दिईन । मुनालाई दुई छोराछोरी बोकेर कता जाउँ भैरह्यो । उनी केही सोच्न सक्ने अवस्थामा थिईनन् । रोकामगरले मुनालाई काम खोजी दिने आश्वासन दिए । रोकामगरले फकाईफुलाइ गरेपछि मुना रोकामगरसँगै चिसापानी हिँडिन ।

मुनालाई लगेर रोकामगर घर पुगे । उनको घरमा पहिल्यै श्रीमती र छोराछोरी थिए । घरको अवस्था देखेपछि मुना ससंकित भईन । केही दिनपछि रोकामगरले मुनालाई बिहेका लागि दवाव दिन थाले । उनले अस्विकार गरिन ।

यही क्रममा उनीहरुबीच झगडा भयो । उनले यातना दिन थाले । मुनाले आफ्नो सबै व्यथा स्थानीय एक युवालाई सुनाईन । तिनै युवाले मुनालाई सहारा घरको बाटो देखाए । सहारा घरका सञ्चालक बलबहादुर बिष्ट चिसापानी पुग्दा मुना विक्षिप्त अवस्थामा थिईन ।

उनले ३ वर्षको छोरा रोसनलाई सिक्रीले बाँधेर राखेकी थिईन । रोसनलाई मानसिक समस्या छ । उनी बोल्न सक्दैनन् । उनी अस्वभाविक व्यवहार देखाउँछन । मुनाले छोरालाई नियन्त्रणमा राख्न बाँधेर राखेकी थिईन । यही क्रममा उनले छोरालाई शारीरिक यातना समेत दिईन ।

यतिबेला उनी मानसिक सन्तुलन गुमेका छोरा र छ महिनाकी छोरी अष्मिता सहित बर्दगोरीयास्थित सहारा घरमा बसेकी छन । सहारा घरमा उनलाई खान बस्न त कुनै समस्या छैन तर पनि उनी त्यहाँ धेरै दिन बस्न चाहेकी छैनन् । ‘यहाँ कुनै समस्या त छैन’ उनले भनिन् –‘तर म छोराछोरीलाई आफै पाल्न चाहन्छु ।’ उनीसँग छोराछोरीलाई कहाँ लगेर कसरी पाल्ने भन्ने प्रश्नको जवाफ भने छैन ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update