योगेश रावल
टीकापुर, बैशाख १०
कैलालीको पूर्वी क्षेत्र खाद्यान्न उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ । यहाँका साविक पथरैया, दुर्गौली, जोशीपुर, मुनुवा, नारायणपुर, धनसिँहपुर गाविस लगायत टीकापुर नगरपालिकाका केही वडामा प्रसस्त खाद्यान्न उत्पादन हुन्छ ।
प्रसस्त खाद्यान्न उत्पादन भएपनि यहाँको अधिकांश खेतीयोग्य जमिन भने बाँझै छ । किसानले विभिन्न समस्याका कारण खेती लगाउन छोडेका छन । त्यो मध्ये प्रमुख कारण खेती लगाउने जनशक्ति नहुनु हो ।
गाउँका धेरै युवाहरु रोजागरीका लागि विदेशीएका छन । कोही भारत पसेका छन भने कोही खाडी मुलुकमा छन । कतिपय युवाहरु भने शिक्षा र रोजगारीकै क्रममा देशका अन्य ठाउँमा बस्दै आएका छन । गाउँमा प्राय वृद्दावस्थामा पुगेका व्यक्तिहरु मात्रै छन ।
खेतीपाती गर्ने जनशक्ति नभएपछि खाद्यान्न उत्पादनका लागि महत्वपूर्ण मानिएको जमिन बाँझो हुन पुगेको छ । किसानले प्राय धान खेती मात्रै गर्दै आएका छन । धान खेती बाहेकको समयमा खेतियोग्य जमिनमा धूलो उड्ने गरेको छ ।
साविक पथरैया गाविस अमरावतीका प्रसादे साउँद (६५) का ३ छोरा छन । उनीहरु सबै रोजगारीका क्रममा कतारमा छन । उनले आफूसँग भएको २ विगाहमा धान खेती मात्रै गर्दै आएका छन । ‘पहिले गहुँ, मसुरो, तोरी पनि लगाउँथे । अहिले भने एउटा बाली मात्रै लगाउने गरेको छुँ’ उनले भने –‘आफू सक्दैन काम गर्ने मान्छे छैन ।’ घरको आँगनसँगै जोडिएको खेतीयोग्य जमिन बाँझो राख्नु उनको बाध्यता हो ।
यस्तो वाध्यता हुने प्रसादे साउँद एक्लो व्यक्ति भने हैनन् । अधिकांश व्यक्तिका सन्तान घरमा छैनन् । काम गर्ने उमेरका युवाहरु धमाधम विदेसिन थालेपछि अधिकांश खेतीयोग्य जमिन बाँझो हुन पुगेको हो ।
साविक दुर्गौली गाविस धर्मापुरका हरिराम चौधरीसँग १ विगाह जमिन छ । उनी अधिँया समेत गरेर झण्डै ५ विगाहमा खेतीपाती गर्थे । उनका छोराबुहारीले समेत खेतीपातीमा सघाउँथे । गाउँका अन्य युवाहरु वैदेशिक रोजगारीमा गएपछि उनका २ छोरा समेत मलेसीया पुगे । उनीहरु मलेसीया गएको ३ वर्ष भयो ।
हरिरामले ३ वर्षदेखी अधिँया लगाउन छोडेका छन । उनले गाँउलेको सरसहयोगमा आफ्नो १ विगाह खेतमा धान रोप्न भने छोडेका छैनन् । उनलाई कुन दिन शरीरले साथ नदिएपछि आफ्नो जमिन समेत बाँझो रहने हो कि भन्ने चिन्ता छ । ‘छोराहरु घरमा छैनन् । बुहारी आफ्ना सन्तान पढाउनु पर्छ मात्रै भन्छन’ उनले भने –‘कुन दिन आफ्नो खेत समेत बाँझै राख्नुपर्ने हो, थाहा छैन ।’
प्रसस्त अन्नबाली बेच्ने कतिपय किसानहरुलाई यतिबेला खान समस्या भैरहेको छ । आफ्नो खेतीयोग्य जमिन बाँझै राखेर किनेर खानुपर्ने बाध्यता अहिले कैलालीका धेरै किसानहरुको छ । ‘गाउँका धेरै युवाहरु विदेसिएका छन्, खेतबारीमा काम गरेर राम्रो आम्दानी नहुने भएपछि खेतीयोग्य जमिन पनि बाँझै रहने अवस्था छ’–टीकापुर नगरपालिका–३ का कालिराम थारुले भने– ‘पहिले पहिले गाउँका किसानहरु विदेश जाँदैन थिए, खेतवारीमै काम गर्थे तर अचेल विदेश जानेको लहर नै चलेको छ ।’
यस क्षेत्रका अधिकांश बासिन्दाहरु रोजगारीका लागि भारत जाने गरेका छन् । पछिल्लो समयमा मलेसिया, दुबई, कतार, दक्षिण कोरिया र केही युवाहरु जापान समेत जाने गरेका छन् ।
टीकापुर नगरपालिकाले केही समयअघि सार्वजनिक गरेको नगर पाश्र्वचित्रका अनुसार नगरपालिकाबाट मात्रै झण्डै १८ हजार युवाहरु विदेसिएका छन् ।
खेतीयोग्य जमिन बाँझो हुनुको कारण युवाहरु विदेसिनु मात्र भने होइन । समयमा मलखाद्य नपाउनु, सिचाईंको सुविधा नहुनु, किसानले उत्पादनको उचित मूल्य नपाउनुले पनि कृषि पेशाप्रति कृषक उदासिन बन्दै गएका हुन् । खर्च अनुसार किसानले उत्पादनको मूल्य नपाउनु र समयमा मलखाद्य उपलब्ध नहुनुले पनि किसानहरु खेती गर्न छोड्दै गएका छन् ।
युवाहरुको विदेस मोह र कृषिप्रति सरकारको उदासिनताले खाद्यान्नका लागि उर्बर भूमि मानिएको कैलालीमा जमिन बाँझै रहने गरेको छ । विदेसमा पसिना बगाएर कमाएको रेमिट्यान्स समेत विदेसिएका परिवारहरुले खाद्यान्न खरिदमा खर्च गर्ने गरेका छन् ।
यसले एकातर्फ जमिन बाँझै रहने गरेको छ भने अर्कोतर्फ विदेशमा बगाएको पसिना समेत खाद्यान्न खरिद जस्ता न्यूनतम् आवश्यकता पूर्ति गर्न मै खर्च हुने गरेको छ ।