Hamro Patra
लकडाउनले बेसहाराको सहारा घर सकसमा

टीकापुर, जेठ ९

कैलालीको बर्दगोरीयास्थित सहारा घरको अवस्था लकडाउनका कारण निकै सकसपूणर् बनेको छ । मनकारीहरुको दानदातव्यबाट चलेको सहारा घर लकडाउन पछि शुन्यप्राय रहने गरेको छ ।

त्यहाँ पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा सहयोग गर्न जाने मनकारीहरुको घुईचो नै लाग्थ्यो । तर लकडाउन सुरु भएपछि भने त्यहाँ कोही पनि पुगेका छैनन् । मनकारीहरुबाट सहयोग नजुटेपछि सहारा घर सञ्चालनमा निकै कठिनाई भैरहेको सञ्चालक बलबहादुर बिष्टले बताए । ‘कतिपय व्यक्तिहरु आउन चाहेर पनि आउन सकेका छैनन्’ उनले भने -‘सहयोग जुट्न छोडेपछि निकै समस्या भएको छ ।’

Khadga Memorial And Janajagriti

उनले अहिलेसम्म भोकै भने बस्नु नपरेको बताए । यसअघि मनकारीहरुबाट प्राप्त सहयोग मौज्दात रहेकाले भोकै बस्नु नपरेको हो । उनले चामल मौज्दात भएपनि दाल, तरकारी, नूनतेल लगायतको भने अभाव भैरहने बताए । उनले केही दिन दाल अभावमा चामलको माड पकाएर खुवाउनु परेको बताए । ‘भोकै बस्नु परेको त छैन’ उनले भने -‘केही दिन दाल अभाव थियो तर अहिले एकजनाले पुर्याई दिईसक्नु भएको छ ।’

उनले यसअघि मनकारीहरुले सहयोग गरेको खाद्यान्न सकिदै गएको जानकारी दिए । उनका अनुसार मौज्दात रहेको चामल १५ दिनसम्मलाई पुग्ने मात्रै छ । उनले त्यतिञ्जेलसम्म कहीँकतैबाट सहयोग नजुटे समस्या हुने बताए ।

उनले यस्तो गम्भिर अवस्थामा पनि राज्यका कुनैपनि निकायबाट सोधीखोजी नभएको प्रति दुःखेसो पोखे । ‘यतिका धेरै जनप्रतिनिधि छन । राज्यका अरु निकाय पनि छन । यति धेरै व्यक्तिहरुलाई पालेर बसेको छुँ । आजसम्म कसैले कस्तो छ भनेर सोधेका छैनन्’ उनले भने -‘राज्य हुनुको कुनै आभाष छैन ।’

विगत सात वर्षदेखी सञ्चालनमा रहेको सहारा घरमा ११० जना बेसहारा बस्दै आएका छन । ती मध्ये २५ जना महिला छन । उनीहरु मध्ये अधिकांश मानसिक सन्तुलन गुमेर सडक जीवन बिताईरहेका छन भने कोही समस्यामा परेर बेसहारा बनेपछि सहारा घरको शरणमा पुगेका हुन ।
सुरु सुरुमा ती व्यक्तिहरुलाई बिष्ट आफैले सडकबाट सहारा घरमा ल्याए । तर पछिल्लो समय भने त्यस्ता व्यक्तिलाई स्थानीय तहले नै सहारा घर पठाउने गरेका छन । स्थानीय पालिकाहरुले आफ्नो ठाउँमा रहेका त्यस्ता व्यक्तिलाई पालनपोषण गरिदिनु भनेर पत्र सहित सहारा घरमा पठाउने गरेको पाईएको छ ।

सञ्चालक बिष्ट सहारा घरमा रहेका सबैको संरक्षण गर्दै आएका छन । उनले सडकमा घाईते अवस्थामा रहेका मानसिक सन्तुलन गुमाएका एक व्यक्तिको उपचार गरेपछि यो अभियान थालेका हुन । उनले यस अभियानलाई सहारा घरको नाम दिएका छन ।

उनले सहारा घरमा राखेर मानसिक सन्तुलन गुमाएका धेरै व्यक्तिलाई निको पारेका छन । उनका अनुसार सहारा घरमा बसेर १३८ जना निको भएर घर फर्किएका छन । उनले ती व्यक्तिका आफन्तलाई बोलाएर जिम्मा लगाउने गरेका छन । जसलाई उनले परिवार मिलन भन्ने गरेका छन ।
सहारा घरकै बसाईका क्रममा निको भएका दुई जोडीले विवाह समेत गरेर गएका छन । उनीहरु मध्ये एक जोडी सुर्खेतको छिन्चु र अर्को जोडी धनगढीमा बस्दै आएका छन । उनीहरु आफ्नो कामकाज गरेर जीवननिर्वाह गर्दै आएका छन । ‘निको भएपछि विवाह गर्छौ भने मैले बाहिर गएर गर्नुस भने उनीहरुले त्यसै गरे’ उनले भने -‘अहिले आफ्नो घरव्यवहार गरेर बसेका छन ।’

तर कतिपय व्यक्ति भने निको भएपछि आफ्नो घर जान छोडेर सहारा घरमै बसेर सहयोग गर्न थालेका छन । उनीहरु निको नभएका व्यक्तिहरुको संरक्षणमा सञ्चालक बिष्टलाई सघाउने गरेका छन ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update