Hamro Patra
कोरोना कहरमा सहयोगी बन्दै युवाहरु

योगेश रावल
टीकापुर, जेठ ७

यी युवाहरुका आफ्नै पेशा व्यवशाय छन । कोही जागिरे छन त कोही ब्यापार व्यवशाय गर्छन । यतिबेला उनीहरु आफ्ना पेशा व्यवशाय थाँती राखेर सेवामा जुटेका छन ।

कोरोनाले स्थिति असामान्य बन्यो । अस्पतालमा बिरामीको घुँईचो लाग्यो । टाढाबाट आएका बिरामी र उनीहरुका आफन्त भोकभोकै बस्नुपर्ने वाध्यता भयो । अस्पताल आसपासका सबै होटल बन्द रहे ।

Khadga Memorial And Janajagriti

बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे । टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे । अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाईरहेका छन ।

युवाहरुले सुरुमा आफै पैसा जुटाए । युवा संघ नेपाल युवा शक्ति विभागका संयोजक अशोक रावल एक्लैले एक लाख रुपैयाँ दिए । उनकै नेतृत्वमा युवाहरु बिरामी र उनीहरुका आफन्तलाई खानाको व्यवस्थापनमा जुटेका छन ।

युवाहरुले खानाको व्यवस्थापन गरेसँगै सहयोगी हातहरु समेत बढ्न थालेका छन । केही व्यक्तिहरुले दाल चामल लगायतका खाद्यान्न सहयोग गरेका छन भने कसैले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन ।

‘हामी आफैले रकम जम्मा गरेर सुरु गरेका हौं । अहिले अरुले पनि सहयोग गर्न थाल्नु भएको छ’ संयोजक रावलले भने -‘सहयोगी हातहरु बढ्दै गएका छन ।’

युवा संघमा आवद्ध युवाहरुले टीकापुर अस्पतालमा रहेका बिरामी र उनीहरुका आफन्तको बिहानको खाजा र साझको खानाको व्यवस्थापन सम्हालेका छन । बिहानको खाना भने मैनादेवी फाउण्डेशनले खुवाईरहेको छ । उसले विगत ११ दिनदेखी टीकापुर अस्पताल र सिटी हलमा रहेको अस्थायी कोभिड अस्पतालमा खाना उपलब्ध गराईरहेको छ । अध्यक्ष केपी खनालले कञ्चन खाद्य उद्योग अस्नेहरीले खाद्यान्न सहयोग गरिरहेको बताए ।

उनले फाउण्डेशनले अक्सिजन लगायतका काममा समेत सघाईरहेको जानकारी दिए । ‘हामी टीकापुरमा मात्रै हैन अन्य ठाउँका अस्पतालहरुमा समेत सहयोग गर्ने तयारीमा छौं’ उनले भने -‘सहयोगी हात बढेसँगै सेवा बिस्तार गर्छौ ।’

टीकापुर अस्पतालको प्रवेशद्वारकै छेउमा स्थानीय प्रयास युवा क्लबका युवाहरु सेवाका लागि बसेका छन । उनीहरु विगत तीन दिनदेखी अस्पतालमा आउने बिरामी र उनीहरुका आफन्तलाई स्वास्थ्य सामाग्री बाँड्न सकृय छन ।

उनीहरुले दैनिक करिव १५० जनालाई मास्क, सेनिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामाग्री वितरण गरिरहेका छन । यसका साथै युवाहरुले पानी र अटो एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको क्लबका उपाध्यक्ष उमेश नाथले जानकारी दिए ।

क्लबमा आवद्ध ९ जना युवाहरुले आफै रकम संकलन गरेर यस्तो सेवा सुरु गरेका हुन । उनीहरुले प्रति व्यक्ति एक हजारका दरले रकम संकलन गरेका थिए । क्लबमा आवद्ध अधिकांश युवाहरु विद्यार्थी छन ।

कोरोना कहरमा समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्ने उद्देश्यले स्थानीय छ जना युवाहरुले सहारा अभियान सुरु गरेका छन । उनीहरुले खाद्यान्न नभएका सर्वसाधारणका घरमै पुगेर खाद्य सामाग्री उपलब्ध गराईरहेका छन । उनीहरुले समेत आफै रकम संकलन गरेर अभियान सुरु गरेका हुन ।

‘भोकभोकै बस्नुपर्ने अवस्थाका व्यक्तिहरुलाई मात्रै सहयोग गरिरहेका छौं’ चक्र चन्द सोडारीले भने -‘घरमा पुगेर उनीहरुको अवस्था हेरेर मात्रै दिन्छौं ।’

कोरोना कहरमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने हातहरु बढ्दै गैरहेका छन । यस्ता सहयोगी हातहरुमा धेरैजसो युवाहरु छन । उनीहरु आ-आफ्नो ढंगले सहयोग गर्दै आईरहेका छन । कोही खाद्यान्न जुटाईरहेका छन भने कोही स्वास्थ्य सामाग्री जुटाईरहेका छन ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update