Hamro Patra
कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो

टीकापुर, जेठ ६

कैलालीको टीकापुर अस्पतालमा बैशाख ८ गते एकजना बिरामी उपचारका लागि आए । कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखे । उनले एक्सरे गरेर हेरे । बिरामीको छाती र फोक्सोमा जटिल समस्या देखियो । उनलाई यो कुनै फरक समस्या हो भन्ने लाग्यो ।

उनले ती बिरामीलाई अस्पताल भर्ना गरे र उपचार थाले । बैशाख १२ गते त्यस्तै स्वास्थ्य समस्या भएका अरु केही बिरामी पनि आए । यो क्रम बढ्दै गयो । बैशाख १६ गते एकजनाले ज्यान गुमाए । अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम दिनप्रतिदिन बढ्दै गयो । बिरामीले अस्पतालको कम्पाउण्ड समेत भरियो । एकैदिन ६० जना बिरामी भर्ना भए ।

Khadga Memorial And Janajagriti

बैशाख २६ गते एकैदिन ६ जनाले ज्यान गुमाए । स्थिति नियन्त्रण भन्दा बाहिर गयो । सिमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भयो । त्यसमाथि अक्सिजनको चरम अभाव भैदियो । पछिल्लो दिन थप ८ जनाले ज्यान गुमाए ।

यी सबै बिरामीलाई हेरिरहेका थिए डा. उपाध्यायले । उनी कत्ति आत्तिएनन् । किनकी उनले यसअघि यस्तै अवस्था भोगिसकेका थिए । तीन महिना अघि टीकापुर पुगेका उनी कोरोना पहिलो लहरमा काठमाण्डौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थिए । त्यहाँको अनुभवले डा. उपाध्यायलाई परिपक्व बनाईसकेको थियो । ‘मेरा लागि त्यो अनुभव हिम्मत बनेर आयो’ उनले भने -‘मैले मात्रै हैन पूरै टिमले हिम्मत जुटायौं ।’

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव । स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले । कोभिड जनरल वार्डमा चार जना स्टाफ नर्स खटिए । उनीहरुलाई महामारीको खाशै अनुभव थिएन । आँखै अघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए । बिष्टले उनीहरुलाई सम्हालिन । बिस्तारै उनीहरुले बिरामीलाई सम्हाल्न थाले ।


‘उनीहरुले यस्तो अवस्था कहिल्यै फेस गरेका थिएनन्’ उनले भनिन् -‘त्यसैले पनि सुरुको अवस्था निकै चुनौतीपूणर् रह्यो ।’

अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ जना स्टाफ नर्स कार्यरत छन । प्रसुती वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई त्यता परिचालन गरिएको छ । बिरामीको चाप अनुसार यो संख्या प्रयाप्त हैन । नर्सिङ अधिकृत बिष्टका अनुसार तैपनि धानेका छन ।

डा. उपाध्याय लगायतको टिम बैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ । उनीहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न छन । ‘कति दिन सम्म त हामी सुत्न पाएनौं’ डा. यादवले भने -‘हाम्रा लागि सुत्नु भन्दा बिरामीको ज्यान जोगाउनु महत्वपूणर् थियो ।’

अस्पतालमा बैशाख २८ गतेपछि अवस्था नियन्त्रणमा आएको छ । हाल ३६ जना उपचाररत छन । ५२ जना उपचार गरेर निको भई घर फर्किएका छन । करिव १५० जना सामान्य चेकजाँच गरेरै निको भएका छन । डा. उपाध्यायका अनुसार कैयौं व्यक्ति टेलिफोनबाटै भनेको औषधी सेवन गरेर समेत निको भएका छन । अस्पतालले कुनै स्वास्थ्य समस्या भए खबर गर्नु भनेर डा. उपाध्यायको नाम र मोवाइल नम्बर सार्वजनिक गरेको थियो । ‘धेरै व्यक्तिले टेलिफोनबाट सोधेरै औषधी सेवन गरे’ उनले भने -‘एकजना हिजो निको भएर भेट्न आउनुभएको थियो ।’

उनी कुनै स्वास्थ्य समस्या भए अस्पताल आउन सुझाव दिन्छन । उनका अनुसार रोग पालेर बस्दा समस्या बढ्दै गैरहेको छ । उनले अहिले पनि धेरै व्यक्ति अस्पताल नआएर घरमै बसेको बताए । ‘अन्तिम अवस्थामा अस्पताल आएका व्यक्ति नै समस्यामा परेका छन’ उनले भने -‘स्वास्थ्य समस्या हुने बित्तिकै उपचार गर्नुस् ।’

कतिपय व्यक्तिहरु उपचारका लागि अस्पताल आउन डराईरहेका छन । उनीहरु घरमै बसेका कारण जोखिम बढ्दै गएको छ । चिकित्सकका अनुसार त्यस्ता व्यक्तिहरु आफ्नो मात्रै नभई घरपरिवारका सदस्यहरुको स्वास्थ्य समेत समस्यामा पारिरहेका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update