Hamro Patra
कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शुन्य

टीकापुर, जेठ ३

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्युदर शुन्यमा झरेको बताए । उनले कोरोनाको दोस्रो भेरियन्ट सुरु भए यता अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये ४८ जना निको भएर घर फर्किएको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

‘अहिले नै नियन्त्रणमा आएको त भन्न मिल्दैन’ उनले भने -‘मृत्युदर र निको हुनेको संख्या हेर्दा त्यसतर्फ अघि बढेको हो कि भन्न सकिन्छ ।’

उनले अस्पतालमा रहेको उच्च उपकार कक्ष (एचडियु) मा हाल १२, अब्जरभेसन वार्डमा ११ र कोभिड जनरल वार्डमा ९ जनाको उपचार भैरहेको बताए । उनका अनुसार ती मध्ये ३/४ जनाको मात्रै स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन । ती मध्ये ७ महिला र २२ पुरुष रहेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै बैशाख २७ गते ८ र बैशाख २६ गते ६ जनाले ज्यान गुमाएका थिए । अस्पतालमा बैशाख १६ गतेदेखी कोरोना संक्रमितको मृत्यु हुने क्रम सुरु भएको थियो ।

अस्तापलमा ज्यान गुमाउनेमा सबैभन्दा धेरै टीकापुर नगरपालिकाका १५ जना रहेका छन । त्यस्तै जानकी गाउँपालिकाका ७, जोशीपुर गाउँपालिकाका ३, लम्कीचुहा नगरपालिकाका २, भजनी नगरपालिकाका १ र बर्दगोरीया गाउँपालिकाका १ जनाले कोरोनाका कारण अस्पतालमा ज्यान गुमाएका छन ।

अस्पतालमा धेरैजसो कोरोना संक्रमितले समयमा अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । चिकित्सकहरुले नै बिरामीलाई समयमा अक्सिजन दिन नसकेका कारण ज्यान जोगाउन नसकेको बताएका छन ।

‘अस्पतालमा अहिले पनि अक्सिजनको अभाव रहेको छ । अहिले पनि हामीसँग ब्याकअप छैन’ फोकल पर्सन डा. उपाध्यायले भने -‘सबैभन्दा ठूलो समस्या नै अक्सिजन अभाव हो ।’

अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीयले रकम संकलन गरेर अक्सिजनको जोहो गर्न थालेका छन । विभिन्न संघसंस्थाहरुले अक्सिजनका लागि अभियान नै थालेका छन ।

टीकापुर सरोकार समूह, टीकापुर उद्योग वाणिज्य संघ र अस्पतालको संयुक्त पहलमा सुरु भएको अभियानमा हालसम्म ४३ लाख ३० हजार ४१० रुपैयाँ संकलन भएको अभियानका प्रवक्ता परमानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार अभियान अन्र्तगत हालसम्म ३० थान अक्सिजन सिलिण्डर खरिद गरेर दिनुका साथै ६० हजार पिस सिटामोल समेत अस्पताललाई उपलब्ध गराईएको छ ।

आजै किसान बहुउदेश्यीय सहकारी संस्था लि. ले समेत अस्पताललाई १०० थान अक्सिजन सिलिण्डर रिफिल गरेर दिएको छ । उसले समेत किसान अक्सिजन बैंक सञ्चालन गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update