Hamro Patra
प्रदेश र संघीय सरकारबीच असमझदारी छैनः मन्त्री शाह

टीकापुर, जेठ ३

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सबैको साझा प्रयासबाट मात्रै विपत्तीसँग लड्न सकिने बताएका छन । मन्त्रालयले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश सरकार आफ्नो क्षमता अनुसार कोरोना रोकथामका लागि सकृय रहेको बताए ।

Khadga Memorial And Janajagriti

उनले महामारी रोकथामका लागि प्रदेश सरकारले केही प्राविधिक कठिनाई भोग्नु परिरहेको बताए । उनले नीति नियमका कारण केही काम गर्न चाहेर पनि गर्न नसक्ने अवस्था हुने गरेको बताए ।

‘केही कुरा जनताले हामीसँग अपेक्षा गरेका हुन्छन’ उनले भने -‘ती हामीबाट गर्न नमिल्ने पनि हुन्छन ।’

उनले संघीय सरकारसँग चर्चा भए जस्तो कुनै असमझदारी नरहेको बताउँदै केही कुरामा सहकार्य हुन नसकेको कुरालाई बढाईचढाई गरिएको बताए । उनले संघीय सरकार प्रदेश सरकारको अभिभावक भएको बताउँदै कहिल्यै प्रतिस्पर्धीका रुपमा नहेरेको बताए ।

‘हाम्रो र संघीय सरकारको प्रतिस्पर्धा नै हैन’ उनले भने -‘तलदेखी माथिसम्म एउटै पार्टीको सरकार छ । हामीबीच असमझदारी हुने कुरै भएन ।’ उनले प्रदेश सरकार आम जनताका सकारात्मक सुझाव ग्रहण गरेर अघि बढ्न तयार रहेको बताउँदै बिना पूर्वाग्रह सुझाव सल्लाहको अपेक्षा रहेको बताए ।

उनले सुदूरपश्चिममा हालसम्म १ लाख ९४ हजार ७३७ जनाको पिसिआर परिक्षण गरिएकोमा १ लाख ६५ हजार ५२९ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले कोरोना पोजेटिभ रिपार्ट आएका २९ हजार २०८ जना मध्ये ३३३ जनाले ज्यान गुमाएको बताए ।

उनले कोरोना संक्रमितले नौवटै जिल्लाका सबै अस्पताल भरिएको बताए । उनले बिरामीले अहिले सबैभन्दा धेरै अक्सिजनको समस्या भोग्नु परिरहेको बताए । उनले सरकारले धनगढीमा रहेको अक्सिजन प्लान्टले नपुगेर बाह्य जिल्लामा रहेका प्लान्टबाट अक्सिजन मगाईरहेको बताए ।
उनले प्रदेश सरकार कोरोनाका बिरामीको उपचारका लागि साधन स्रोत र जनशक्ति जुटाउने तर्फ पनि गम्भिर भएर लागिरहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update