Hamro Patra
कोरोनामा टीकापुर अस्पतालः २६ ले गुमाए ज्यान

टीकापुर, जेठ १

दोश्रो लहरको कोरोना फैलिएसँगै टीकापुर अस्पतालमा हालसम्म २६ जनाले ज्यान गुमाएका छन् । टीकापुर अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार दोश्रो लहरको कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका हुन् ।

Khadga Memorial And Janajagriti

ज्यान गुमाउनेमा टीकापुर, भजनी र लम्कीचुहा नगरपालिका तथा जानकी, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका छन् ।

ज्यान जानेमा सबैभन्दा बढी टीकापुर नगरपालिकाका छन् । विज्ञप्ति अनुसार टीकापुर नगरपालिकाका १४ जनाले अस्पतालमा ज्यान गुमाएका छन् । त्यस्तै जानकी गाउँपालिकाका ६ जना, जोशीपुर गाउँपालिकाका ३ जनाले ज्यान गुमाएका छन् । भजनी, लम्की चुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाका एक एक जनाले ज्यान गुमाएका छन् ।

मृतक अधिकांशमा स्वासप्रस्वास तथा फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएको बताए । डाक्टर राईका अनुसार हालसम्म अस्पतालबाट ४४ जना कोरोना जितेर घर फर्किएका छन् ।

अस्पतालमा हाल कोभिड उच्च उपचार कक्षमा ११ जना, कोभिड जनरल वार्डमा ११ जना तथा अब्जरभेसनमा २१ जना गरी ४३ जनाको उपचार भइरहेको छ । अस्पतालले विरामीको चाप बढ्न थालेपछि ओपिडी, इमरजेन्सी तथा बरण्डामा समेत बिरामी राखेर उपचार गरिरहेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेशप्रसाद उपाध्यायले अक्सिजनको ब्याकअप कम हुँदै गएकाले थप बिरामी भर्ना लिएर उपचार गर्न सम्भव नभएको बताए । उनले तत्काल अक्सिजनको ब्याकअपको व्यवस्था भए बरण्डामा राखेर समेत बिरामीको उपचारमा राहत हुने बताए । अस्पतालमा भर्ना भएका प्रायः सबै बिरामीलाई अक्सिजन सर्पोट दिइएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update