Hamro Patra
माघी होमस्टेमा चरा अवलोकन

योगेश रावल
टीकापुर, बैशाख ९
पर्यटकीय क्षेत्र घोडाघोडी ताल नजिकैको माघी होमस्टे बास बस्नका लागि मात्रै नभई चरा अवलोकनका लागि समेत उपयुक्त गन्तव्य बनेको छ । होमस्टेमा बास बस्ने पाहुनाले घर वरपर नै झण्डै ५० प्रजातिका चरा अवलोकन गर्न पाउँछन ।

घरआँगनमै विभिन्न प्रजातिका चरा अवलोकन गर्न पाईने भएपछि धेरै चरा पारखी आन्तरिक र बाह्य पर्यटकहरु घोडाघोडी नगरपालिका–४ माघी गाउँस्थित होमस्टे पुग्ने गरेका छन । स्थानीय ताराप्रसाद चौधरीले चरा अवलोकनका लागि नेपालकै उपयुक्त स्थान भएको दावी गरे । उनले चरा अवलोकनका लागि आउने व्यक्तिहरुले दिएको प्रतिक्रियाका आधारमा यस्तो दावी गरेको बताए । ‘यो हामीले भनेको हैन’ उनले भने–‘पर्यटकले नै चरा अवलोकनका लागि उपयुक्त भन्ने गरेका छन ।’

Khadga Memorial And Janajagriti

चरा अवलोकनका लागि कतिपय व्यक्तिगत रुपमा होमस्टे पुग्छन भने कतिपय संस्थागत रुपमा पुग्ने गरेका छन । यसरी संस्थागत रुपमा होमस्टे पुग्नेमा धेरैजसो शैक्षिक संस्था छन । शैक्षिक संस्थाले आफ्ना विद्यार्थीहरुलाई चरा अवलोकनका लागि ल्याउने गरेको होमस्टेका व्यवस्थापक महेश चौधरीले जानकारी दिए । ‘शैक्षिक संस्थाले विद्यार्थीलाई चरा अवलोकनका लागि ल्याउने गरेका छन’ उनले भने–‘चरा अवलोकन होमस्टेको विशेषता बनेको छ ।’

होमस्टेमा बस्ने पाहुनाले गाउँसँगै जोडिएको माघी सामुदायिक वनमा चरा अवलोकन गर्न सक्छन । त्यो भन्दा धेरै चरा अवलोकनका लागि नजिकै घोडाघोडी ताल क्षेत्र समेत छ । जहाँ ३०० भन्दा बढी प्रजातिका चरा देख्न पाईन्छ । चरा अवलोकनका लागि गाईडको पनि व्यवस्था छ । प्रति गाईडले एक दिनको ८०० रुपैयाँ लिन्छन । स्थानीयका अनुसार चरा अवलोकनका लागि ७ ठाउँमा ‘बर्ड वाच सेन्टर’ स्थापना गरिएका छन ।
केही वर्षअघिसम्म धेरै जसो व्यक्तिको काम दिनभर चरा मार्ने जस्तै थियो । उनीहरु जंगल पसेर दिनभर चरा मारेर फर्किन्थे । उनीहरुबीच कसले धेरै चरा मार्ने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । यसमा खासगरी युवाहरुको संलग्नता बढि रहन्थ्यो । उनीहरुलाई चराचुरुङ्गीको महत्व खासै थाहा थिएन । यतिबेला भने गाउँलेले चराचुरुङ्गीको महत्व बुझेका छन ।

‘हामी चराचुरुङ्गीको महत्व बिस्तारै बुझ्दैछौं’ होमस्टे सञ्चालक सीतादेवी चौधरीले भनिन्–‘चराचुरुङ्गी हाम्रो जीविकोपार्जनसँग जोडिएको छ ।’
होमस्टे चरा संरक्षणमा प्रतिवद्ध छ । होमस्टे स्थापनामा चरा संरक्षण नेटवर्कले सहयोग समेत गरेको छ । होमस्टे स्थापनाले चरा संरक्षणमा सघाउ पुगेको छ । गाउँका धेरै व्यक्तिलाई चरा मार्नु हुँदैन भन्ने जानकारी छ । उनीहरु नै चरा संरक्षणमा दिनरात खटेका छन ।

‘चराचुरुङ्गीको संरक्षणमा हामी सबै प्रतिवद्ध छौं’ होमस्टेका अध्यक्ष शोभाराम चौधरीले भने–‘चराकै कारण देशविदेशबाट पाहुनाहरु हाम्रो गाउँसम्म पुग्न थालेका छन ।’
उनका अनुसार नर्वेका एक नागरिक चरा अवलोकनका लागि दुई पटक होमस्टे आईसकेका छन । उनी दुई पटक एक÷एक महिना होमस्टेमा बास बसेर फर्केका छन ।

विदेशी नागरिक समेत होमस्टेमा बास बस्न पुगेपछि सञ्चालकहरु दंग छन । चुरेको फेदी नजिकै रहेको माघी गाउँमा होमस्टे निर्माण भएपछि चहलपहल बढेको छ । धेरैले यस गाउँलाई चरा अवलोकनका लागि चिन्न थालेको चरा संरक्षण नेटवर्कका उपाध्यक्ष जमुना न्यूरेले बताईन ।

२०७१ सालबाट सञ्चालनमा आएको होमस्टेमा १५ घर छन । सुरुमा १४ वटा घरबाट होमस्टे सुरु भएको थियो । एउटा घर पछि थपिएको छ । होमस्टेमा ६० जना बास बस्न सक्छन । होमस्टेमा बास बस्ने पाहुनाका लागि साँस्कृतिक प्रस्तुती समेत रहन्छ । जसमा झुम्रा, सखीया, लठवा नाँच प्रमुख रहेको व्यवस्थापक चौधरीले बताए । यसका साथै होमस्टेमा पाईने थारु परिकार समेत पाहुनाको आकर्षण बन्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update