Hamro Patra
अक्सिजन सहयोग अभियानमा सहभागीको संख्या बढ्दै, तीन दिनमै २५ लाख संकलन

टीकापुर, बैशाख २९

कैलालीको टीकापुर अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजनको व्यवस्था गर्न नागरिकस्तरबाट सुरु भएको अभियानमा सहभागीको संख्या दिनानुदिन बढ्दै गएको छ । अक्सिजन सहयोग अभियान शुरु भएको आज तेस्रो दिनमै २५ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ ।

टीकापुर अस्पताल, टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर सरोकार समूहले अभियान सुरु गरेका हुन । अभियानमा देशविदेशबाट थुप्रै व्यक्तिहरुको सहभागीता रहेको पाईएको छ । अध्यक्ष भण्डारीका अनुसार टीकापुर घर भई हाल अमेरीका, जापान, दक्षिण कोरीया, अफ्रिका, अष्टेलिया र खाडी मुलुकमा रहेका व्यक्तिहरुले अभियानमा साथ दिएका छन ।

Khadga Memorial And Janajagriti

अमेरिकामा रहेका विष्णु शाहले अभियानमा रकम संकलनका लागि सबैसँग समन्वय गरिरहेका छन । उनले आफै अभियानमा १ लाख रुपैयाँ सहयोग गरेका छन ।

टीकापुरमै रहेका व्यक्तिहरुले समेत अभियानमा साथ दिएका छन् । ब्यापारी व्यवशायी र जागिरे मात्रै हैन सामान्य जीवनशैली भएका व्यक्तिहरुले समेत अभियानमा सक्दो साथ दिएको टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अभियानमा रकम जम्मा गर्न स्थानीय आफै उत्साहित भएका छन । ‘हामीले सुरुवात मात्रै गरेको हो’ उनले भने -‘अहिले आफै रकम जम्मा गर्नेको संख्या बढ्दै गएको छ ।’

कैयौं व्यक्तिले सामुहिक रुपमा समेत अभियानमा रकम जम्मा गरिरहेका छन । कैलालीको पूर्वी भेगमा रहेका विभिन्न शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक कर्मचारीहरुबाट रकम संकलन गरेर अभियानमा साथ दिएका छन । रकम जम्मा गर्ने शैक्षिक संस्थाको संख्या बढ्दै गैरहेको छ ।
‘हामीले विपदको घडीमा सक्ने सहयोग गरौं न भनेर सल्लाह गर्र्यौ धेरै साथीहरु सकृय रुपमा लाग्नु भएको छ’ नेपाल शिक्षक महासंघ टीकापुरका अध्यक्ष रघुनाथ उपाध्यायले भने -‘अझ धेरै रकम संकलनकै क्रममा छ ।’

टीकापुर अस्पतालमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको समाचार प्रकाशित भएपछि नागरिकस्तरबाट अभियान सुरु भएको हो । अभियान सुरु भएपछि अस्पतालमा अक्सिजन आपूर्ती केही सहज बनेको छ । अभियान अन्र्तगत अस्पतालमा हालसम्म २० वटा सिलिण्डर प्रदान गरिएको छ भने थप १० सिलिण्डर खरिद भएर हस्तान्तरणको क्रममा रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

केही व्यवसायीहरुले अस्पताललाई अक्सिजन सिलिण्डर भरेर दिएका छन । उनीहरुले स्थानीय बिक्रेताबाट अक्सिजन सिलिण्डर भरेर दिएका हुन । व्यवशायीहरुले अक्सिजन सिलिण्डर भरेर दिएपछि अस्पतालमा अक्सिजनको समस्या केही हदसम्म सहज बनेको छ ।

टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले अक्सिजनको अभाव यथावत भएपनि पछिल्लो २ दिन यता केही सहज बन्दै गएको बताए । ‘हामीसँग ब्याकअप छैन’ उनले भने -‘तर अहिले बिरामीले अक्सिजन पाईरहेका छन ।’

अस्पतालमा अक्सिजन नपाएर बैशाख २६ गते ६ र २७ गते ८ जना कोरोना संक्रमितको ज्यान गएको थियो । अक्सिजन आपूर्ती सहज बनेपछि अस्पतालमा कोरोना संक्रमितको मृत्युदर घटेको छ । फोकल पर्सन डा. उपाध्यायका अनुसार हिजो २ र आज १ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update