Hamro Patra
कोरोना अस्पताल र आइसोलेसन सेन्टर नाम मात्रकाः संक्रमित जोखिममा

टीकापुर, बैशाख २९

कैलालीको जोशीपुर गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले स्थानीय रघुनाथ आदर्श बहुमुखी क्याम्पसको भवनमा कोभिड अस्पताल निर्माण गरेको छ । तर त्यो अस्पतालमा न त स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री नै छ न त उपचारका लागि कोरोना संक्रमित भर्ना भएका छन । अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ ।

गाउँपालिकाले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक जाने व्यवस्था त गरेको छ । तर स्वास्थ्य सामाग्रीको अभावमा कोरोना संक्रमित उपचारका लागि भर्ना नभएपछि चिकित्सक आजसम्म कोभिड अस्पताल जान परेको छैन ।

Khadga Memorial And Janajagriti

बर्दगोरीया गाउँपालिकाले खानेपानी कार्यालयको भवनमा २० शैयाको आइसोलेसन सेन्टर स्थापना गरेको छ । गाउँपालिकाले अन्य दुई ठाउँमा समेत आइसोलेसन सेन्टर स्थापनाका लागि प्रस्ताव गरेको छ ।

हाल स्थापना भएको आइसोलेसन सेन्टरमा २ जना कोरोना संक्रमित मात्रै छन । न त्यहाँ स्वास्थ्य सामाग्रीको भरपर्दो व्यवस्था छ न त चिकित्सक नै छन । प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिँह कार्कीले अक्सिजन सेवा सहितको आइसोलेसन सेन्टर भएको बताए । उनका अनुसार आइसोलेसन सेन्टरमा एचए र अनमीले बिरामीको उपचार गरिरहेका छन । उनले कोरोना संक्रमित उपचारका लागि आउने जाने क्रम चलिरहेको जानकारी दिए ।

यता जानकी गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरको अवस्था पनि दयनीय नै छ । कोरोना संक्रमितलाई एचए र अनमीले उपचार गरिरहेका छन । न त्यहाँ स्वास्थ्य सामाग्री छ न स्वास्थ्य समस्या जटिल भए नजिकको अस्पताल पुर्याउने एम्बुलेन्सको व्यवस्था छ । ‘हाम्रोमा सामान्य उपचार मात्रै हो’ स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले भने -‘स्वास्थ्य समस्या बढ्यो भने टीकापुर अस्पताल पठाउने गरेका छौं ।’
उनले थुप्रै कोरोना संक्रमित होम आइसोलेसनमै बसेको बताए । उनका अनुसार प्रत्येक दिन टेलिफोन मार्फत होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिने गरिएको छ ।

भजनी नगरपालिकाले निर्माण गरेको कोभिड अस्पतालमा पनि बिरामी छैनन् । नगरपालिकाले स्थानीय बहुमुखी क्याम्पसको भवनमा १५ शैयाको अस्पताल निर्माण गरेको छ । त्यहाँ अहिलेसम्म बिरामीको उपचार सुरु भएको छैन । अस्पतालमा बिरामीको उपचार सुरु नहुनुको कारण स्वास्थ्य सामाग्रीको अभाव नै हो ।

तर नगरपालिकाले चालु आवको सुरुमै प्राथमिक स्वास्थ्य केन्द्रसँगै निर्माण गरेको ५ शैयाको कोभिड वार्डमा भने कोरोना संक्रमित उपचार भैरहेको छ । त्यहाँ अहिले पनि ५ जना कोरोना संक्रमितको उपचार भैरहेको स्वास्थ्य शाखा प्रमुख कृतीसिँह विकले जानकारी दिए ।

ती कोरोना संक्रमितलाई प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरुले उपचार गरिरहेका छन । विकका अनुसार कतिपय कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

उनले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई प्रयाप्त मात्रामा सेवा दिन नसकिएको बताए । ‘१५/१६ सिलिण्डर छ त्यो हाल उपचाररत बिरामीलाई ठिक्क हुन्छ’ उनले भने-‘अक्सिजनको प्रयाप्तता भयो भने उपचार सेवा बिस्तार हुन्छ ।’

टीकापुर नगरपालिकाले स्थानीय सिटी हलमा निर्माण गरेको कोभिड अस्थायी अस्पतालको हालत पनि भरपर्दो छैन । त्यहाँ एकजना कोरोना संक्रमितले ज्यान गुमाएका छन । स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार हाल ३ जनाको उपचार भैरहेको छ ।

टीकापुर अस्पतालका चिकित्सक बेला बेलामा कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न आउँछन । अस्पतालमै कोरोना संक्रमितको अत्याधिक चाप बढेको छ । चिकित्सकलाई अस्पतालमा आएका कोरोना संक्रमितको उपचारमै समय अपुग छ । उनीहरु यस्तो अवस्थामा कोभिड अस्थायी अस्पतालका कोरोना संक्रमितको उपचारमा समयमा पुग्न नसक्ने समस्या पनि छ ।

रावलका अनुसार चिकित्सकको अनुपस्थितिमा अस्थायी अस्पतालका कोरोना संक्रमितको उपचार स्टाफ नर्स र एचएले गर्दै आईरहेका छन । ‘चिकित्सक दैनिक ३ पटक राउण्डमा आउनु हुन्छ’ उनले भने -‘अघिपछि अन्य स्वास्थ्यकर्मीले उपचार गर्नुहुन्छ ।

लम्कीचुहा नगरपालिकाको आइसोलेसन सेन्टरमा सबैभन्दा धेरै कोरोना संक्रमितको उपचार भैरहेको छ । स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार त्यहाँ २१ जनाको उपचार भैरहेको छ । यो भन्दा धेरै व्यक्ति कोरोना जितेर घर फर्किसकेका छन ।

उनले आइसोलेसन सेन्टरमा उपचाररत बिरामीको लम्की अस्पतालका चिकित्सकबाट उपचार भैरहेको बताईन । उनले कोरोना संक्रमितका लागि अक्सिजन सहितको स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिईन ।

पालिकाहरुले निर्माण गरेका अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितको अवस्थान निकै दयनीय छ । उनीहरु भरपर्दो स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभावमा कोरोनासँग लडिरहेका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update