Hamro Patra
भेटिलेन्टर हेर्दै ज्यान गुमाउँछन् संक्रमित

टीकापुर, बैशाख २७

टीकापुर अस्पतालको उच्च उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा हुन्छ, कोरोना संक्रमितहरुको उपचार । भर्ना भएका अधिकांश विरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या छ । उनीहरुलाई भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका विरामीहरु भेन्टिलेटर हेरेर ज्यान गुमाइरहेका छन् । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोश्रो लहरको कोरोना संक्रमण फैलिएपछि २१ जनाले ज्यान गुमाई सकेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुष चार दिनदेखि अस्पतालमा भर्ना थिए । उनमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खाजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उनलाई उच्च उपचार कक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतवार उनको ज्यान गयो । ‘भेन्टिलेटर हुँदा समेत हामीले उपचार पाएनौं, आफन्तलाई अकालमै गुमायौं’ उनका एक आफन्तले भने ‘उपचार कक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर विरामीहरुले ज्यान गुमाइरहेका छन् ।’

Khadga Memorial And Janajagriti

कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आईसियु जनशक्तिको अभावमा प्रयोगबिहिन भएपछि विरामीहरु ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सात वटा भेन्टिलेटर सहितको आईसियु प्रयोगबिहिन जस्तै बनेको छ ।

अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आईसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाई रहेका छन् ।

अस्पतालले हाल २० शैयाको एचडियु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपेरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, श्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताए । ‘आंशिक रुपमा भेन्टिलेटर हामीले चलाइरहेका छौं, हामीले लिएको तालिमका आधारमा उपचार भइरहेको छ’ डाक्टर राईले भने ‘एनेस्थेसियोलोजिष्ट भएको भए भेन्टिलेटर ट्युबको प्रयोग गरेर कृतिम श्वास दिएर उपचार गर्न सकिन्थ्यो । एनेस्थेसिया नहुँदा भेन्टिलेटर चलाउन सकिएको छैन ।’

आईसियु सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने वाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्था आएको हो । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भएपनि तत्काल आईसियु सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूणर् भैरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजीरहेका छौं तर पाउन सकेका छैनौं’ उनले भने -‘संघीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्री देखि सबैलाई भन्दाभन्दै थाकिसक्यौं, अहिले त फोन पनि उठ्दैन ।’

अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।

कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यो अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ ।

१० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ५ जना मात्रै कार्यरत छन । ती मध्ये ३ जना करारमा कार्यरत छन ।
अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल २ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सको माग गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले हाल ७ जना मेडिकल अधिकृत खटाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update