Hamro Patra
टीकापुर अस्पतालमा थप एक महिलाको ज्यान गयोः दुई दिनमा १२ जनाको मृत्यु

टीकापुर, बैशाख २७

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा भर्खरै थप एक महिलाको ज्यान गएको छ । आज मात्रै अस्पतालमा ज्यान गुमाउनेको संख्या छ पुगेको छ । हिजो पनि अस्पतालमा छ जनाले ज्यान गुमाएका थिए । टीकापुर अस्पतालका अनुसार अहिले भर्खरै ज्यान गुमाउनेमा टीकापुर नगरपालिका-१ की ४५ वर्षीया महिला छन् ।

योसँगै गएरातिदेखी अहिलेसम्म ज्यान जानेमा टीकापुर नगरपालिकाका ४, जानकी र बर्दगोरीया गाउँपालिकाका १/१ जना रहेका छन । अस्पतालका मेसु डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका-१ का ५१ वर्षीया महिला, ७ का ६० वर्षीया महिला र ७ कै ६७ वर्षका पुरुषको ज्यान गएको छ । त्यस्तै जानकी गाउँपालिका-१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका-४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

Khadga Memorial And Janajagriti

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा. राईले जानकारी दिए । उनका अनुसार मृतक सबैमा स्वास प्रश्वास र फोक्सोमा समस्या देखिनुका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आएको छैन ।

‘रिपोर्ट आए पनि नआए पनि सबैजनामा कोरोनाको लक्षण देखिन्थ्यो’ मेसु डा. राईले भने-‘अस्पतालमा उपचारका लागि आएका सबैजनामा यस्तै स्वास्थ्य समस्या देखिने गरेको छ ।’

अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ । बिरामीको चाप बढेसँगै अस्पतालमा उपचार गर्न कठिनाई भैरहेको मेसु डा. राईले बताए । उनले अस्पतालको बरण्डामा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बताए ।

उपचाररत बिरामीलाई तत्काल अक्सिजनको अभाव भएको छ । हिजो अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि स्थानीय अक्सिजनको व्यवस्थापनका लागि आफै अग्रसर भैरहेका छन । उनीहरुले अक्सिजन खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरेका छन ।

अभियानमा देशविदेशमा रहेका थुप्रै व्यक्तिहरु सहभागी भैरहेका छन । अहिलेसम्म १५ लाख जति संकलन भैसकेको बताईएको छ ।

दोस्रो चरणको कोरोना फैलिएपछि टीकापुर नगरपालिकामा हालसम्म २० जनाको ज्यान गएको छ । एकपछि अर्को व्यक्तिको ज्यान जान थालेपछि स्थानीयमा त्रास फैलिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update