Hamro Patra
फेरि थपिए एकजनाः टीकापुर अस्पतालमा ६ ले गुमाए ज्यान

टीकापुर, बैशाख २६

टीकापुर अस्पतालमा उपचाररत थप एकजनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा कोरोना संक्रमणको लक्षण देखिएका छ जनाको ज्यान गएको हो ।

टीकापुर अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिकाकाका चार र जानकी गाउँपालिकाका दुई जना पुरुष रहेका छन् । टीकापुर अस्पतालका अनुसार टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्ष, ५० वर्ष, ६२ वर्ष र ४५ वर्षीया पुरुष छन् भने जानकी गाउँपालिका वडा नं. २ का ५४ र वडा नं. १ का ५१ वर्षीय पुरुषको ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका वडा नं. १ का ६२ वर्षीय पुरुषको आज विहान १० बजे र ४६ वर्षीय पुरुषको १२ बजे निधन भएको छ । वडा नं. १ का ६० वर्षीय पुरुषको आज विहान ७ बजे अस्पतालको इमरजेन्सी कक्षमा ज्यान गएको हो । उनी बैशाख २२ गते अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा कडा निमोनिया देखिएको थियो ।

वडा नं. १ कै ५० वर्षीय पुरुषको समेत इमरजेन्सी कक्षमै ज्यान गएको हो । उनको शनिवार बेलुकी ७ः५० बजे ज्यान गएको थियो । श्वासप्रश्वासमा कठिनाई र खोकीको समस्याले शनिवार नै भर्ना भएका ती पुरुषको एन्टीजेन विधिबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

त्यस्तै जानकी गाउँपालिका वडा नं. २ का ५४ वर्षीय पुरुषको आज विहान २ः१० बजे ज्यान गएको हो । उनी शनिवार इमरजेन्सी कक्षमै भर्ना भएका थिए । ती पुरुषमा समेत कोभिडका लक्षणहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

उता, जानकी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय पुरुषमा समेत कोरोनाका लक्षणहरु देखिएका थिए । उनी २३ गते भर्ना भएका हुन् । उनको अस्पतालमा रहेको उच्च उपचार कक्षमा शनिवार बेलुकी ४ः४५ बजे निधन भएको हो । दोश्रो चरणको कोरोना लहर फैलिएपछि अस्पतालमा १४ जनाले ज्यान गुमाएका छन् ।

टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले अस्पतालमा रहेको अक्सिजन सकिने अवस्था हुँदा थप हताहत हुने अवस्था आएको बताए । डाक्टर उपाध्यायका अनुसार अस्पतालको उच्च उपचार कक्षमा १२ जना भर्ना गरिएका छन् भने अस्पतालको इमरजेन्सी, ओपीडी कक्षहरु विरामीले भरिएका छन् ।

‘५० जनालाई नियमित अक्सिजन दिइरहेका छौं, अक्सिजनको ब्याकप अहिलेसम्म छैन’ उनले भने ‘अक्सिजन सकियो, ब्याकप ब्यवस्थापन गर्न सकिएन भने अन्य विरामीको ज्यान जान सक्छ । निकै हताहती भएको अवस्था छ ।’ अक्सिजन पर्याप्त नहुँदा समेत उपचारमा समस्या भइरहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update