Hamro Patra
कोरोना बढेपछि अन्य विरामीलाई उपचारको सास्ती

टीकापुर, बैशाख २४

टीकापुर नगरपालिका वडा नं. १ की ललिता जैशी गर्भवती थिइन् । स्वास्थ्यकर्मीले उनलाई जेठ ७ गतेको सुत्केरी समय दिएका थिए । बुधवार विहानै उनलाई सुत्केरी ब्यथा देखियो । समय भन्दा अगाडि नै सुत्केरी व्यथा लागेपछि उनी एक निजी क्लिनिकमा गइन् । स्वास्थ्यकर्मीले भिडियो एक्स रे गरे । बच्चाको तौल कम भएको र एनआईसियुमा राख्न पर्ने सुझाव दिएपछि उनको परिवारले एम्बुलेन्समा नेपालगञ्ज नर्सिङ होममा लिए । शुरुमा अस्पतालले हेर्दै हेरेन ।

जैशीले निकै गुहार मागेपछि चेकजाँच गरेर होमले सुत्केरी व्यथा नभएको भन्दै घर पठायो । त्यही एम्बुलेन्समा नेपालगञ्जको चक्कर लाएर उनी टीकापुर फर्किन् । बिहीवार विहानै फेरि सुत्केरी व्यथा लाग्यो । आत्तिँदै उनको परिवारले टीकापुर अस्पताल पुर्यायो । अस्पतालले ब्यथाले च्यापिसकेको भन्दै उनको अप्रेसन गरेर बच्चा निकाल्यो । बच्चा र आमा अहिले स्वस्थ्य छन् ।

Khadga Memorial And Janajagriti

उनका श्रीमान् बासुदेव अधिकारीले भने ‘कोरोनाको त्रास त छँदैछ, गर्भवती, सुत्केरी, वृद्धवृद्धाहरुले समेत उपचार नपाएर ज्यान जाने अवस्था छ ।’ कोरोना बाहेकका विरामीको उपचार गर्न अस्तपालहरुले आनाकानी गर्दा दुःख भोग्नु परेको उनले बताए ।

टीकापुरकै ६७ वर्षीय धना धमालाको अचानक दिसापिसाब रोकियो । उनका आफन्तले टीकापुर अस्पताल लिन खोजे । अस्पतालमा बिरामीको चाप देखेपछि घरमै स्वास्थ्यकर्मीको सहयोगमा औषधी शुरु गरे । उनलाई थप समस्या देखिएपछि अन्यत्र लैजाने जोहो गरेका उनका आफन्तले धनगढी, नेपालगञ्जका सबै अस्पतालहरुमा बुझ्दा पनि बेड पाउन सकेनन् । अन्ततः घरमै उनको रोकथाम भइरहेको छ ।

‘आमालाई दिसापिसाब खुलेको छैन, बाहिर लैजाने तयारी गरेको हो, नेपालगञ्जमा पनि ठाउँ छैन नल्याउनु भन्छन्’ छोरा नवीन धमालाले भने ‘कोरोना भनेर अन्य विरामीलाई उपचार नै नहुने कुरा त ठिक भएन ।’

कोरोना संक्रमणको दोश्रो लहर फैलिएसँगै अस्पतालहरुमा संक्रमित तथा कोरोनाको लक्षण भएका विरामीहरु बढेपछि अन्य विरामीहरु उपचारबाट वञ्चित हुन थालेका छन् । अस्पतालमा कोरोना संक्रमित र लक्षण भएका विरामीहरु बढेपछि इमरजेन्सी बाहेकका सबै सेवा ठप्प हुँदा विरामीहरु उपचारबाट वञ्चित भइरहेका छन् ।

कैलालीको पूर्वी क्षेत्रका टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया र महुन्याल गाउँपालिकाका साथै बर्दियाको पश्चिमी क्षेत्रका विरामीलाई सेवा दिँदै आएको टीकापुर अस्पतालमा इमरजेन्सी सेवाबाहेक बन्द गरिएपछि विरामीहरु उपचार पाउनबाट वञ्चित भएका हुन् । टीकापुर अस्पतालमा यसअघि दैनिक ५ शय बढी बिरामीहरु चेकजाँचका लागि आउने गरेका थिए ।

अस्पतालले अन्य विरामीको चेकजाँच गर्न छोडेपछि स्थानीय क्लिनिकहरुमा भिड लाग्न थालेको छ । सुरक्षाका मापदण्ड विना नै चेकजाँच गर्नु पर्दा कोरोनाको जोखिम बढेको क्लिनिक सञ्चालकहरु बताउँछन् । टीकापुरस्थित विमोर क्लिनिकका सञ्चालक सञ्जय भण्डारीले अस्पतालमा चेकजाँच हुन छोडेपछि विरामी निजी क्लिनिकमा बढिरहेका छन् । भण्डारीका अनुसार भाइरल ज्वरो र कोरोनाको लक्षण भएका विरामीहरु आउने गरेका छन् ।

‘मानवीय सेवाका दृष्टिकोणले पनि आएका विरामीहरुको उपचार त गर्नै पर्यो’ भण्डारी भने ‘सेवा दिने क्रममा हामी समेत कोरोनाको जोखिममा रहेका छौं ।’ भण्डारीले भने अस्पतालले कोरोना बाहेकका विरामीको पनि उपचार गर्ने छुट्टै प्रबन्ध गर्नुपर्छ ।

टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले कोरोना संक्रमण फैलिएपछि विरामी आउने क्रम रोकिएको बताए । ‘कोरोना संक्रमितको उपचारका लागि खट्नु पर्ने भएकाले कम जनशक्ति र शैयाका हिसाबले अन्य सेवा बन्द गर्नु परेको हो’ डाक्टर राईले भने ‘हामी सबैको उपचार गरिरहेका छौं, संक्रमणको डरले सकेसम्म नआउनुस् भन्ने हो तर विरामी आएपछि उपचार त गर्नै पर्यो ।’

डाक्टर राईका अनुसार टीकापुर अस्पतालमा इमरजेन्सीसहित खोप सेवा, एचआईभी संक्रमितहरुका लागि एआरटी सेवा, प्रसुती सेवा सञ्चालनमा रहेको बताए । उनले अस्पतालमा आउने विरामीहरु कोरोनाको शंकास्पद लक्षण भएका हुनाले उनीहरुलाई ओपीडीमा बेडको व्यवस्था गरेर उपचार गरिरहेको बताए । अस्पतालमा शंकास्पद विरामी आउने क्रम बढेको बताउँदै उनले भने ‘इण्डोरमा भर्ना गरिएका विरामीहरुलाई समेत खाली गरेर शंकास्पद विरामीको उपचार गर्ने निणर्यमा पुगेका छौं, विरामी नधान्ने अवस्था छ ।’

उनले विरामीको समस्यालाई ध्यानमा राख्दै अस्पतालका चिकित्सकहरुको टेलिफोन नम्बर सार्वजनिक गरिएको र अत्यावश्यक परे इमरजेन्सीमै भए पनि उपचार गर्दै आइरहेको बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update