Hamro Patra
कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

टीकापुर, बैशाख २३

कोरोना संक्रमित डडेल्धुराकी एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो । उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे । आफन्तले जतिसुकै प्रयास गरेपनि शव गाउँ लैजान सकेनन् ।

कोरोना संक्रमितको शव बोक्न कोही गाडीवाला तयार भएनन् । उनीहरुले एम्बुलेन्स र शवबाहन पनि पाएनन् । जतिसुकै प्रयास गर्दा पनि सम्भव नभएपछि आफन्त शव जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मा लगाएर फर्किए ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो । महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन् ।

टीकापुर अस्पतालमा जानकी गाउँपालिकाकी एक कोरोना संक्रमित महिलाको निधन भयो । उनका आफन्तले शव अन्तिम संस्कारका लागि लैजान खोजे । शव बोक्न कोही तयार भएनन् । उनीहरुले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकामा गुहार मागे । गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले शवबाहन प्रयोग गर्न जवाफ फर्काए ।

टीकापुर अस्पतालले शवबाहन कोरोना संक्रमितको शव बोक्न प्रयोग नगर्ने निणर्य भएको आफन्तलाई जवाफ दियो । उनीहरुले टीकापुर नगरपालिकालाई गुहारे । धेरै कर गरेपछि नगरपालिकाले टिप्पर उपलब्ध गरायो । यति हारगुहार गर्दासम्म १२ घण्टा बितिसकेको थियो । त्यतिञ्जेल ती महिलाको शव अस्पतालको शवगृहमा राखियो ।

टीकापुर अस्पतालमै लम्कीचुहा नगरपालिका भुरुवाका एक युवकको निधन भयो । उनी समेत कोरोना संक्रमित थिए । उपचारका क्रममा युवकको मृत्यु भएपछि आफन्त आत्तिए । उनीहरुले अन्तिम संस्कारका लागि शव लैजान खोजे । उनका आफन्तले समेत त्यही समस्या भोगे । शव बोक्न कोही तयार भएनन् ।

अन्त्यमा कुनै उपाय नभएपछि आफन्तले गाउँबाटै ट्याक्टर मगाए । त्यही ट्याक्टरमा राखेर युवकका आफन्तले दाहसंस्कार गरे । पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी प्रतिनिधि घटना मात्रै हुन । कोरोना संक्रमणबाट निधन भएका मध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै धेरै समस्या भोग्नु परिरहेको छ ।

‘निकै धेरै समस्या छ । यो समस्या अझ धेरै बढ्ने देखिन्छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका कोरोना फोकल पर्सन शिवराज जोशीले भने -‘सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको रिफरल अस्पताल हो । यहाँ मृत्यु हुने क्रम बढेको छ ।’

उनले कैलालीमा मात्रै शव व्यवस्थापनका लागि कम्तिमा ४ वटा गाडी हुनुपर्ने बताए । उनका अनुसार हाल शव व्यवस्थापनका लागि एउटा मात्रै गाडी छ । उनले चाँडै शव बोक्ने गाडीको मात्रै नभई दाउरा र दाहसंस्कार स्थलको समेत अभाव देखिने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update