योगेश रावल
टीकापुर, बैशाख ८
कृषि उत्पादन बढाउने उद्देश्यले राज्यले अर्बौंको लगानीमा रानी जमरा कुलरीया सिँचाई आयोजना निर्माण गरिरहेको छ । तर खेतीयोग्य जमिन भने वर्षेनी घट्दै गएको छ ।
सिँचाई आयोजनाको कमाण्ड क्षेत्रका केही किसान अन्नबालीको ठाउँमा बहुवर्षे बाली लगाउन थालेका छन । उनीहरु खेतीयोग्य जमिनमा लिप्टिस, सागुन जस्ता बिरुवा रोप्न थालेका छन ।
सन् २०१७ मा डाइनले गरेको सर्भे अनुसार सिँचाई आयोजनाको हालको कमाण्ड क्षेत्रमा ७० विगाह खेतीयोग्य जमिनमा यस्ता बिरुवा रोपिएका छन । जसमध्ये कुलरीया नहरतर्फ ३०, रानी नहरतर्फ २४ र जमरा नहरतर्फ १६ विगाह छ । बितेको एक वर्षमा अझै धेरै विगाह खेतीयोग्य जमिनमा यस्ता बिरुवा बिस्तार भएको हुनसक्ने अनुमान गरिन्छ ।
सिँचाई आयोजनाले भविष्यमा समेट्ने हालको कमाण्ड क्षेत्र वरपरको खेतीयोग्य जमिनमा भने बहुवर्षे बाली लगाउने क्रम ब्यापक बढेको छ । केही वर्ष यता विभिन्न कम्पनीहरुले गाउँगाउँमा एजेण्ट खटाएर किसानलाई यसतर्फ मोडिरहेका छन । वर्षेनीको मेहनत भन्दा एक पटक लगाए पछि धेरै वर्षसम्म काम गर्न नपर्ने लोभमा किसानहरु बहुवर्षे बालीतर्फ आकर्षित हुन थालेका छन ।
जोशीपुर गाउँपालिका बौनियाँस्थित रघुनाथ आदर्श माविको ५२ विगाह जमिनमा लिप्टिस रोपिएको छ । सो जग्गामा दुई वर्षअघि धान, गहुँ, तोरी, मसुरो लगायतका बाली उत्पादन हुन्थ्यो । विद्यालयको जग्गा ठेक्कामा लिने व्यक्तिले खाद्य बाली हटाएर त्यहाँ लिप्टिस रोपेको हो । विद्यालयले हरेक पाँच वर्षमा नविकरण गर्ने गरी २० वर्षका लागि जग्गा ठेक्कामा दिएको छ ।
प्रधानाध्यापक बसन्त महतौले ठेक्कामा लिने व्यक्तिले के बाली उत्पादन गर्छ भन्नेतर्फ आफ्नो सरोकार नभएको बताए । उनले विद्यालयले आम्दानीका लागि जग्गा ठेक्कामा दिएको बताए । ‘हाम्रो उद्देश्य विद्यालयको आम्दानी मात्रै हो’ उनले भने–‘जग्गा ठेक्कामा लिने व्यक्तिले जेसुकै गरोस् । हामीलाई सरोकार भएन ।’
होटल व्यवसायी समेत रहेका मोहन जैशीले समेत मनग्गे आम्दानीको आशमा ३ विगाहमा लिप्टिस रोपेका छन । उनले एक पटक लगाए पछि खेर नजाने भएका कारण आम्दानी निश्चित भएको बताए । ‘लिप्टिस कागज बनाउन प्रयोग हुने रहेछ, यो काठ खेर जाँदैन’ उनले भने––‘एकपटकको लगानीले केही वर्षमा राम्रै आम्दानी गर्न सकिन्छ ।’
एकातर्फ मनग्गे आम्दानी र अर्कोतर्फ कृषि पेशामा आईपर्ने समस्याका कारण पनि किसानहरु बहुवर्षे बालीतर्फ आकर्षित हुन थालेको पाईन्छ । किसानले वर्षौदेखी मलखाद, बिउँबिजन, सिँचाई लगायतका समस्या भोग्दै आएका छन । अझ पछिल्लो समयमा त खेतीपाती गर्न जनशक्ति अभाव समेत हुन थालेको छ ।
यस्तै विविध समस्याले जानकी गाउँपालिका–३ लायकपुरका कृष्ण साउँदले दुई वर्ष जमिन बाँझो राख्नु प¥यो । उनले जनशक्ति अभावमा समयमा खेत रोप्न पाएनन् । उनी जनशक्ति अभावमा खेत बाँझो राख्नु भन्दा बहुवर्षे बालीबाट आम्दानी गर्न तर्फ मोडिए । उनले एक विगाहमा लिप्टिस र सागुन रोपेका छन ।
‘दुई वर्ष जमिन बाँझै रह्यो, जमिन बाँझो राख्नु भन्दा लिप्टिस लगाऊँ भनेर लगाएको हुँ’ उनले भने–‘तत्काल नभए पनि केही वर्षमा राम्रो आम्दानी हुनेछ ।’
तत्काल कृषकलाई खेती लगाउने झण्झटबाट मुक्ति दिए पनि बहुवर्षे बालीले अन्न भण्डारका रुपमा रहेको खेतीयोग्य जमिन घट्दा उत्पादनमा ह्रास आउने देखिन्छ । उत्पादनमा ह्रासले खाद्यान्नमा परनिर्भरताका साथै अर्बौंको लगानीमा निर्माण भैरहेको सिँचाई आयोजनाको औचित्य नै संकटमा पर्ने भएको छ ।
नेपालले वर्षेनी अर्बौंको चामल, गहुँ, तोरी, मसुरो लगायत भारतबाट आयात गरिरहेका बेला खेतीयोग्य जमिन घट्नु ठूलो चुनौती हुने देखिन्छ । तराईको खेतीयोग्य जमिन घट्दा त्यसको असर पहाडी जिल्लामा पर्ने देखिन्छ । यसले भोकमरी लगायतका विकराल समस्या देखा पर्ने सम्भावना छ । कृषि उत्पादनमा ह्रास निम्त्याएर परनिर्भरतालाई बढावा दिन बाह्य शक्तिको चलखेल हुन सक्ने रानी जमरा कुलरीया मूल कुला समितिका उपाध्यक्ष दामोदर खड्काको आशंका छ ।
‘हामीलाई परनिर्भर बनाउने खेल हो कि जस्तो पनि छ’ उनले भने–‘स्पष्ट कृषि नीति बनाएर यस्ता कार्य तत्काल रोक्नुपर्छ ।’
सरकारले केही वर्ष यता खेतीयोग्ग जमिन मासिन नदिन पहल गरिरहेको छ । उसले खेतीयोग्य जमिनको खण्डिकरण लगायतका कुरामा रोक लगाएको छ । यतिले मात्रै खेतीयोग्य जमिन जोगाउन चुनौती छ । स्थानीय सरकारले कडा कृषि नीति ल्याएर खेतीयोग्य जमिनको अपचलनलाई रोक्नुपर्नेमा सरोकारवालाको जोड छ ।