Hamro Patra
जनशक्ति अभावमा आईसियु प्रयोगबिहिन

टीकापुर, बैशाख २२

कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको आईसियु प्रयोगबिहिन जस्तै बनेको छ । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटर सहितको आईसियु प्रयोगबिहिन जस्तै बनेको हो ।

अस्पतालले लामो समयदेखी एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भएपनि व्यवस्था हुन नसक्दा आईसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर छट्पटाई रहेका छन ।

Khadga Memorial And Janajagriti

अस्पतालले हाल २० शैयाको एचडियु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । जहाँ १५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. रमेश प्रसाद उपाध्यायका अनुसार हालसम्म अस्पतालमा कोरोनाको दोस्रो लहरबाट संक्रमित भएका मध्ये ७ जनाले ज्यान गुमाईसकेका छन । ती मध्ये आज मात्रै २ जनाले ज्यान गुमाएका हुन ।

आईसियु सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने वाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा समस्या भैरहेको छ । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भएपनि तत्काल आईसियु सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूणर् भैरहेको बताए । ‘विगत लामो समयदेखी एनेस्थेसिया खोजीरहेका छौं पाउन सकेका छैनौं’ उनले भने -‘खै किन हो भेटिएका समेत आउन मान्दैनन् ।’

कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरीया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिंदै आएको यो अस्पतालले विगत लामो समयदेखी नै जनशक्ति अभाव भोग्दै आएको छ ।

१० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ५ जना मात्रै कार्यरत छन । ती मध्ये ३ जना करारमा कार्यरत छन ।
अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल २ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सको माग गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले हाल ७ जना मेडिकल अधिकृत खटाएको छ ।

टीकापुर नगरपालिका भित्र आजसम्म ६८ जना सकृय संक्रमित छन । ती मध्ये ६० जना होम आईसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कोरोना संक्रमित मध्ये ६ जना निको भएर घर फर्किएका छन ।

कोरोनाको जोखिम बढ्दै गएपछि स्थानीयमा त्रास फैलिएको छ । उनीहरु समयमा उपचार नपाउने चिन्ताले त्रसित बनेका हुन ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update