Hamro Patra
डोटीमा एकैदिन ५४ जनामा कोरोना संक्रमण

खगेन्द्रबहादुर सिंह
डोटी, बैशाख २०

डोटीको बडीकेदार गाउँपालिकाको कार्यालय एक साताको लागि बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

Khadga Memorial And Janajagriti

सोमबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको हो । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारीको जोखिमलाई न्युनिकरण गर्न एक साताका लागि बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश दत्त भट्टले बताए ।

एकैदिन ५४ जनामा पोजिटिभ

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परीक्षण गरिएका ५७ नमुनामा ४५ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर ४५ जना, एन्टीजेनबाट गरिएको परीक्षणमा जोरायल गाउँपालिकामा ६ जना, केआईसिंह गाउँपालिकामा ३ जना गरी सोमबार मात्रै ५४ जना थपिएका हुन् ।

हालसम्म डोटी जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९८ जना पुगिसकेको जिल्ला अस्पताल डोटीका प्रयोगशाला प्रमुख सौरभ श्रेष्ठले जानकारी दिए । यस भन्दा पहिला एक सय ४४ जना सक्रिय संक्रमित रहेका थिए ।

जोरायल गाउँपालिकामा संक्रमित हुनेहरुमा २ जना स्वास्थ्यकर्मी र ४ जना कर्मचारी रहेको जोरायल गाउँपालिकामा स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिए । डोटी जिल्लामा संक्रमितको संख्या १ सय ९८ पुगेसँगै जिल्लामा निशेधाज्ञा जारी हुन सक्ने सम्भावना बढेको छ ।

सक्रीय संक्रमितको संख्या दुई सय पुगे लगत्तै स्थानीय प्रशासनले निशेधाज्ञा गर्न सक्ने छ । यसै सम्बन्धी छलफल गर्नका लागी जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठक बसिरहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update