Hamro Patra
शैया पाउन सोर्सफोर्सः अक्सिजनको हाहाकार

अर्जुन शाह
धनगढी, बैशाख १९

सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल छ । अक्सिजनको हाहाकार भएर बिरामीलाई पुर्याउन सकस छ । भरिभराउ अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर अन्य रोगका बिरामीसँगै आकस्मिक कक्षको ग्यालरीमा राखिएको छ ।

प्रयोग हुने ठाउँमा आईसीयु र भेन्टिलेटरको चरम अभाव छ भने सञ्चालन हुन नसक्ने ठाउँमा त्यस्ता अत्यावश्यक उपकरणहरू थन्किएका छन्  । उपचार नपाएर पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढीको मृत्यु हुन थालेको छ । यसले संक्रमितसँगै अन्य रोगका बिरामीको उपचार ओझेलमा परेको छ । दुई दिनअघि आईसीयुको प्रतीक्षामा एक संक्रमितका आफन्तले सेती प्रादेशिक अस्पतालमा ४८ घण्टा बिताए ।

Khadga Memorial And Janajagriti

आईसीयुमा रहेका संक्रमितको मृत्यु भएपछि मात्रै उनले निकै सोर्सफोर्स लगाएर बेड पाए । अन्य बिरामीले त त्यही पनि पाएनन्  । ‘आईसीयु र भेन्टिलेटरमा रहेको कुनै बिरामी अब बाँच्न मुस्किल छ भन्ने सूचना पाएपछि सकभर त्यो बेड चाँडै खाली भइदिए हुन्थ्यो भन्ने प्रतीक्षा गरिरहेका थुप्रै कुरुवाहरू भेटिन्छन्’ बिरामीका एक आफन्तले आफ्नो भोगाइ सुनाए ।

आईसीयुमा राख्नुपर्ने बिरामीलाई शैया नपाएर अक्सिजन सहायतामै राख्नुपर्दा आफन्तहरू कुन बेला आईसीयु खाली होला र त्यहाँ सारौला भन्ने प्रतीक्षामा हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘हामी आईसीयुमा अन्तिम क्षणमा पुगेको बिरामीको पनि पुनर्जीवनको पुकारा गरिरहेका हुन्छौं तर अन्य बिरामीका परिवारजनलाई त्यो बेड चाँडो खाली भइदिए आफ्नो बिरामी राख्न पाइन्थ्यो भन्ने लागिरहेको हुँदो रहेछ’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे भन्छन् ‘आईसीयुका लागि सर्वसाधारणको गुहार मात्रै हैन, उपल्लो ओहोदाका व्यक्तिहरूको टेलिफोन र सोर्सफोर्स पनि आइरहेको हुन्छ तर बेड खाली नभएसम्म हामीसँग विकल्प हुन्न ।’

सबैभन्दा धेरै तनाव कोरोना अस्पतालमा खटिएका नर्सिङ स्टाफलाई छ । स्वास्थ्यकर्मीका अनुसार हरेक बिरामी आईसीयु सहायता अनिवार्य पर्ने खालका छन् तर आईसीयु पर्याप्त छैन । अस्पतालमा ४० शैया अक्सिजन जडित, १० शैया एचडीयु र १० वटा आईसीयु छ ।

आईसीयु आवश्यकताको दबाब थेग्नै नसकेपछि अन्य रोगका बिरामीको उपचारका लागि जोहो गरिएका १० वटा आईसीयु शुक्रबारदेखि कोरोनामै प्रयोग गर्न शुरु गरिएको छ । शनिबारसम्म ५९ जना संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, १७ आईसीयु र ३५ जनालाई अक्सिजन सहायता राखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए  ।

स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिम भरि १० जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ८ शय ५२ पुगेको छ ।

संक्रमितको संख्या बढेसँगै सेती प्रादेशिक अस्पताल अक्सिजन अभाव शुरु भइसकेको थियो । पछिल्लो समय अक्सिजन हाहाकार हुने अवस्था आएको छ । ‘अक्सिजनको मात्रा हाइफ्लोमा चलाउनुपर्ने बिरामीको संख्या बढेको, आईसीयु र भेन्टिलेटर निरन्तर सञ्चालनका गर्नु परेका कारण अक्सिजन अभाव भएको हो’ सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने ‘बिरामीका लागि अक्सिजन हारालुछको अवस्था छ, आपूर्ति गर्न हम्मेहम्मे छ ।’

अस्पतालमा अक्सिजन प्लान्ट छ तर उत्पादनले भ्याइरहेको छैन । दिनहुँ ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्टबाट ५० सिलिन्डर उत्पादन भइरहेको छ । कोरोना संक्रमण बढेसँगै अस्पताललाई दिनहुँ डेढ शय सिलिन्डरको आवश्यकता छ । अपुग जति बाहिरबाट जोहो गर्नुपर्ने अवस्था आइलागेको डा. पाण्डेले बताए । आपत्कालीन प्रयोगका लागि नेपालगन्जबाट एक शय सिलिन्डर ल्याउने प्रयास भइरहेको उनले बताए । ‘नेपालगन्जमा पनि सहज रूपमा पाउने अवस्था नभएकाले थप समस्या भइरहेको छ’ डा. पाण्डेले भने ।
साभारः कान्तिपुर

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update