Hamro Patra
गुजारा नचलेपछि भारत पुगेकाहरू फेरि स्वदेशतिरै

देवेन्द्र खड्का
महेन्द्रनगर, बैशाख १८

कञ्चनपुरको गड्डाचौकी नाकामा शुक्रबार बिहान बझाङका दीपेन्द्र बोहरा घर जान गाडी पर्खिरहेका थिए । नाकामा झोलाझिम्टीसहित गाडी कुरिरहेका बोहरा भारतमा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर बढेपछि घर फर्किएका हुन् । उनी गत वर्ष वैशाख १८ गते यसैगरी कोरोनाको डरले स्वदेश फर्किएका थिए । तर, गाउँमा धेरै दिन गुजारा नचलेपछि उहाँ फेरि २०७७ साल भदौँ २० गते कोरोना महामारी बिच कामको खोजीमा भारत गए ।

‘पोहोर साल पनि इण्डियामा कोरोना बढेपछि यसरी नै झोला बोकेर घर आएको थिएँ’ बोहराले भने ‘तर घरमा धेरै दिन बेरोजगार बसेर आफ्नो र परिवारको पेट पाल्न गाहे भएपछि २०७७ भदौ २० गते भोकले भन्दा बरु रोगैले मरौला भनेर फेरि भारत गएको थिएँ ।’ उनले अगाडि थपे ‘अहिले काम राम्रै चलिरहेको थियो, तर के गर्ने यो कोरोना फेरि आयो त्यही भएर नाका बन्द नहुँदै कोरोनाका डरले घर फकिएका हौं ।’

Khadga Memorial And Janajagriti

उनीसँगै नाकामा भेटिएका हरिचन्द्र जोशी पनि घरमा पेट पाल्न गाहे भएपछि गत वर्ष भारत पसेका थिए । ‘गत वर्षको लकडाउनमा घरमा त्यसै बसेँ साँझ बिहान दुई छाक खान पनि गाहे भएपछि रोजगारीका लागि भारत गएको थिएँ’ जोशीले भने, ‘तर अहिले भारतमा कोरोना धेरै बढिरहेको छ । त्यहाँकै जनताले उपचार पाइरहेका छैनन् त्योे देखेर मरे पनि नेपालमै मरौँला भनेर घर फर्किएको हुँ ।’

बैतडीका दानसिंह कार्की भने रोजगारीका लागि केही दिन अगाडि मात्रै भारत गएको थिए । ‘म नयाँ वर्ष खाएर वैशाख ७ गते रोजगारीका लागि भारत गएको थिएँ’ कार्कीले भने ‘तर के गर्ने भारतमा कोरोनाले मान्छे मरेको देख्दा डर लागेर गएको १० दिनमै ज्यान बचाएर घर फर्किएँ ।’ कार्की, जोशी र बोहरा जस्तै हजारौं नेपाली नागरिक अहिले भारतबाट स्वदेश फर्किरहेका छन् ।

दुई दिनमा झण्डै चार हजार नेपाली स्वदेश फर्किए

भारतमा कोरोना भाइरस संक्रमणको उच्च चपेटामा परेपछि पुनः स्वदेश फर्किने नेपालीहरूको लर्को लागेको छ । गतवर्ष पनि भारतमा कोरोना भाइरस संक्रमण बढेपछि नेपाल फर्किनेहरूको लर्को लागेको थियो ।

कञ्चनपुरस्थित गौरीफन्टा र गड्डाचौकी नाकाबाट मात्रै दुई दिनमा तीन हजार ३ शय ८९ नेपाली स्वदेश फर्किएका छन् । कञ्चनपुरमा पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख १६ गतेदेखि जिल्लामा लकडाउन गरेको छ ।

यद्यपि, लकडाउन भएकै दिन एक हजार ३ शय ५३ जना पुरुष, ५ शय ४८ महिला र १ शय ६१ जना बालबालिका गरी एक हजार ६ शय २९ जना नेपाल भित्रिएका थिए । यस्तै, वैशाख १७ गते एक हजार ३ शय २७ जना पुरुष, ३ शय २१ जना महिला र १ शय १२ बालबालिका गरी एक हजार ७ शय ६० जना नेपाली स्वदेश फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार वैशाख १६ र १७ गते भारतको नाकामा गरिएको ४ शय ३ जनाको एन्टिजेन परीक्षणमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update