Hamro Patra
आइसीयु खोज्दैमा जान्छ संक्रमितको ज्यान

शेरबहादुर ऐर
धनगढी, बैशाख १८

 

टीकापुर नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय युवामा श्वासप्रश्वासको समस्या थप जटिल बन्दै गयो । मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका उनले आइसीयुसहितको भेन्टिलेटरमा भर्ना हुन खोज्दा पाएनन् ।

Khadga Memorial And Janajagriti

सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि उनले धनगढीस्थित निजी अस्पतालमा भेन्टिलेटर खोजे तर, पाएनन् । बुधबार भेन्टिलेटर र अक्सिजन अभावका कारण उनले ज्यान गुमाउनु पर्यो ।

मृतक युवाका भाई गणेश क्षेत्रीले भने ‘सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन । हामीले बोकेको अक्सिजन ग्याँस पनि सकिँदै थियो । दाजुलाई समयमै भेन्टिलेटरमा नराख्दा ज्यान गुमाउनु पर्यो ।’ गणेशका अनुसार ती युवकमा तीन दिनअघि नै गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

सेती प्रादेशिक अस्पतालले अस्पतालमा पाँच वटा भेन्टिलेटर रहेको दाबी गरेको छ भने प्रदेश स्वास्थ्य निर्देशनालयले सेतीमा १० वटा भेन्टिलेटर रहेको दाबी गरेको छ ।

४६ वर्षीय युवा आएको दिन मंगलबार भेन्टिलेटरमा दुई जना बिरामी भर्ना भएका थिए । बुधबार सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा थप एक जनालाई भर्ना गर्दा तीन जना पुगेको थियो । मंगलबार नै भेन्टिलेटर अभाव देखाउँदै ४६ वर्षीय युवालाई अस्पतालले भर्ना गर्न नमानी अन्यत्र पठाएको थियो । गणेशले भने ‘भेन्टिलेटरमा भर्ना गर्न पनि पहुँच चाहिँदो रहेछ । जो मसँग थिएन । मैले धेरैसँग गुहार मागे तर, दाइलाई बचाउन सकिएन ।’

ती युवाजस्तै अहिले सेतीमा जटिल अवस्थामा भेन्टिलेटर खोजिरहेका बिरामीहरुले भर्ना पाउन सकेका छैनन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटा स्वास्थ्य संस्था गरी ३४ जनालाई भर्ना गर्न सकिने गरी भेन्टिलेटरको व्यवस्था छ । निर्देशनालयले प्रदेशभरी ३४ भेन्टिलेटर रहेको दाबी गरे पनि कतिपय स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा सञ्चालनमा छैनन् भने कतिपयमा मर्मत नहुँदा बन्द अवस्थामा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले छ महिनाअघि प्रदेशको बाजुरा, डोटी, टीकापुर, अछाम, बझाङ र दार्चुला अस्पतालमा दुई/दुई वटा भेन्टिलेटर स्थापना गर्ने भन्दै उपकरणहरु जडान गरेको थियो । तर, अहिलेसम्म जनशक्ति अभाव हुँदा सञ्चालनमा आउन सकेको छैन ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालभरी अहिलेसम्म १४ वटा भेन्टिलेटर रहेको जानकारी दिए । ‘अस्पतालमा १४ वटा भेन्टिलेटर रहेका छन तर, कोभिड बिरामीका लागि मात्र पाँच वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ’ उनले भने ‘पाँच वटा मध्ये दुई वटा बिग्रेकोले अहिले तीन वटामात्र सञ्चालनमा छन् ।’ उनले प्रदेश सरकारलाई जानकारी गराए पनि अहिलेसम्म मर्मत हुन नसकेको बताए ।

उनले कोभिड बिरामीलाई सकेसम्म आइसीयुमै राखेर उपचार गरिने गरेको बताए । उनले भने ‘सकभर आइसीयुमै उपचार गरिरहेका छौं । अवस्था एकदमै जटिल भए मात्र भेन्टिलेटरमा राखिन्छ । अहिलेसम्म भेन्टिलेटर नपाएर कतिलाई फर्काइयो भन्ने अभिलेख छैन ।’

कोभिड-१९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङ, बाजुरा, बैतडी लगायतका स्वास्थ्य संस्थामा भेन्टिलेटर अहिलेसम्म सञ्चालन हुन नसकेको जनाइएको छ । बझाङमा सञ्चालनमा ल्याइएका आइसीयु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द छन् । आइसीयु र भेन्टिलेटर सेवा सञ्चालनमा नआउँदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

शुक्रबारसम्म प्रदेशका चार वटा स्वास्थ्य संस्थामा नौ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको जनाइएको छ । सेती प्रादेशिक, डडेल्धुरा अस्पतालमा तीन/तीन, महाकाली अस्पतालमा दुई र जिल्ला अस्पताल दार्चुलामा एक जनाको उपचार भइरहेको जनाइएको छ ।

प्रदेश सरकारको प्राथमिकता एमआरआई

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन् । तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ ।

प्रदेश सरकारले यही १४ गतेमात्र एमआरआइका लागि बोलपत्र आह्वान गरिसकेको छ । प्रदेश सरकारको ११ करोड ९९ लाख र झण्डै दुई करोड अन्य गरी १४ करोडमा उक्त उपकरण खरिदको तयारी थालिएको जनाइएको छ । अस्पतालले १३ करोड ३२ लाख रुपैयाँमा एमआरआई उपकरण जडानका लागि बोलपत्र आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने ‘कोरोना महामारी शुरु हुँदैदेखि यसको महामारी नियन्त्रण र संक्रमितको उपचारका लागि प्रदेश सरकारले जोड दिनुपर्ने थियो तर, प्रदेश सरकारको ध्यान अन्यत्र छ ।’ उनले अहिले एमआरआई भन्दा पनि प्रदेश सरकारले आइसीयु, भेन्टिलेटर, अक्सिजन व्यवस्था लगायतमा जोड दिनुपर्ने सुझाव दिए ।

प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने युनिट छ । अन्य अस्पतालहरुमा युनिट जडान गर्नेतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ ।

कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय युवा १० गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल भर्ना भए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजन सिलिण्डरको आवश्यक परेको थियो । सेती प्रादेशिक अस्पतालमा सिलिण्डर नभएपछि आफैं व्यवस्थापन गर्न अस्पतालले सुझाब दिएको थियो । ती युवकका आफन्तले भने ‘अस्पतालमा अक्सिजन सिलिण्डर छैन भने आफैले धेरै ठाउँ खोजे कतै पाएन । अहिले अस्पतालभित्रै रहेको अक्सिजन प्लान्टको प्रयोग गरी उपचार भइरहेको छ । चिकित्सकहरुले अहिले सिलिण्डर आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।’

सेती प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट भने माग अनुसार पूर्ति गर्न नसकिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले भने ‘यहाँ रहेको अक्सिजन प्लान्टको क्षमता भनेको ४७ किलोको प्रति दिन ७५ सिलिण्डर उत्पादन गर्छ । तर, अहिलेको अवस्थामा एक शय ५० भन्दा बढी सिलिण्डर प्रयोग भइरहेको छ । यसका लागि हामीले ७० भन्दा बढी सिलिण्डर खरिद गरेर प्रयोगमा ल्याइरहेका छौं ।’

सेती प्रादेशिक अस्पतालमा आउने जटिल खालका विरामीहरुलाई अहिले भेन्टिलेटर र अक्सिजन अभाव हुने गरेको गुनासो बढिरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पहल गर्न सकेको छैन ।

महाकाली अस्पतालमा कोभिड संक्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ । महाकाली अस्पतालमा दैनिक १५ सिलिण्डर अक्सिजन खपत हुने गरेकोमा अस्पतालमा हाल ५ सिलिण्डर अक्सिजन मात्रै उत्पादन गर्ने युनिट रहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकता अनुसार अक्सिजन दिन नसकेको बताए ।

‘आवश्यकता अनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि अक्सिजन मगाएका छौँ’, डाक्टर रोकायाले भने, ‘संक्रमण बढदै जाँदा व्यवस्थापनको निकै समस्या भएको छ ।’ ५० शैयाको कोभिड अस्पताल, कञ्चनपुरमा कोभिड बिरामी भरिभराउ रहेकोले समस्या उत्पन्न भएको डाक्टर रोकायाले बताए ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जगदिशचन्द्र विष्टले अस्पतालले प्रतिदिन २७ सिलिण्डर उत्पादन गरिरहेको बताए । ‘अहिले अस्पतालमा १६ बिरामी छन् । हामीले ११ बिरामीलाई मात्र अक्सिजन उपलब्ध गराउन सकेका छौं’ उनले भने ‘अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीहरुलाई अक्सिजन सेवा दिन सकिएको छैन ।’ उनले प्लान्ट थप्न पनि एक/दुई महिना लाग्ने र बजारमा पनि सिलिण्डर नहुँदा कुनै पनि विकल्प नभएको बताए । उनले अहिले सिलिण्डर पनि फिलिङ पनि गर्न नसकिएको बताए ।

टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजनसहितको २० शैयाको अक्सिजन जडानसहितको आइसोलेशन वार्ड तयार गरिएको छ । कोरोना भाइरसका बिरामी बढ्न थालेसँगै अस्पतालले आफ्नो तयारीलाई तीव्ररुपमा अगाडि बढाएको हो । अस्पतालले पहिले पनि आइसोलेशन बनाएको भए पनि संक्रमण दर कम भएपछि हटाएको थियो । संक्रमणस्थित भन्दा बाहिर गइसकेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले अस्पतालको क्षमता अनुसार तयारी पूरा गरिएको बताए ।

‘हामीसँग पर्याप्त जनशक्ति पनि छैन । प्रविधि भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको छ’ मेडिकल सुपरिटेन्डेन्ट राईले भने, ‘कोरोना परीक्षण नहुँदा मात्रै हामीलाई सामान्य लागेको छ । परीक्षण हुने हो भने कोही पनि अछुतो रहने अवस्था छैन ।’

क्षमताभन्दा बढी संक्रमित

सेती प्रादेशिक अस्पताल अन्र्तगतको अस्थायी कोभिड-१९ अस्पतालमा ५५ बेड रहेको छ । अस्पतालमा अहिले ५७ कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना भएपछि अस्पतालको ग्यालेरीमा राखेर भए पनि व्यवस्थापन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको अभाव हुन लागेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार शुक्रबारसम्म अस्पतालमा तीन जना भेन्टिलेटर, नौ जना आइसियु, ३५ जनालाई अक्सिजनको सर्पोट र १० जना मध्यम उपचारमा रहेका छन । टीकापुर अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ ।

महाकाली प्रादेशिक अस्पतालमा ४४ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये पाँच जना आइसियु, दुई जना भेन्टिलेटरमा रहेका छन ।डडेल्धुरा अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आठ जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन । प्रदेशभरी शुक्रबारसम्म एक शय ३७ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update