Hamro Patra
कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकार असफल: नेपाली काँग्रेस

धनगढी, बैशाख १७

सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले कोराना रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकार पूर्णत असफल र गैर जिम्मेवार भएको ठहर गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरुको स्थापना, शैया संख्याको बृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्न प्रदेश सरकार र संघीय सरकार उदासिन र गैर जिम्मेवार भएको आरोप लगाए ।

नेता रावलले कोरोना संक्रमणले भयावह रुप लिदा पनि प्रदेश सरकार र संघीय सरकार आपसी द्धन्दमा व्यस्त रहनु वा नागरिकको जीवन रक्षाका लागि उदासिन हुदा यस्तो अवस्था सृजना भएको बताए ।

Khadga Memorial And Janajagriti

उनले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यो समयमा पनि जिम्मेवार नहुनुले यहाँका नागरिकले सरकार र अभिभावक बिहिन महशुस गरिरहेको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै रावलले भने, प्रदेश सरकार यतिबेला पनि नागरिकको जीवन रक्षा भन्दा पनि कमिसन र भ्रष्टाचारका योजना बाडफाँडमा तल्लिन रहनु दुर्भाग्यपूर्ण कुरा हो ।

नेता रावलले सीमाबाट भित्रिने हरेक नागरिकको नाकामै स्वास्थ्य परीक्षण गर्न र पोजेटिभ देखिएकालाई उपचार र अन्यलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरे ।उनले सुदूर पश्चिमका नौ वटै जिल्लामा भेन्टिलेटर र आईसियु समेतको उपचारको व्यवस्था अविलम्ब गरियोस । सञ्चालनमा नआएका आईसिुय र भेन्टिलेटरलाई तत्काल सञ्चालन गर्न आग्रह गरे ।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा तत्काल चिकित्सक र स्टार्फ नर्सको संख्या थप गर्न आग्रह गर्दै नेता रावलले भने, सुदूर पश्चिमका सम्पूर्ण अस्पतालहरुमा अक्सिजनको आपूर्ति तत्काल गरियोस । अक्सिजनको अभाव र उपचार नपाएर नागरिकले अकालमा मृत्युवरण गर्न नपरोस । सरकार भएको अनुभूति सुदूरपश्चिमका नागरिकले गर्न सकुन ।

उनले कोरोना उपचार, रोकथाम र नियन्त्रणमा अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, ल्याव टेक्निसियन, सुरक्षाकर्मीहरुm सञ्चारकर्मीहरु, अत्यावश्यकीय सेवा प्रदान गरिरहेकाहरुको मनोबल उच्च बनाउन सवैलाई प्रोत्साहन र जोखिम भत्ता प्रदान गर्न सरकारसंग आग्रह गरे ।

नेता रावलले गेटा मेडिकल कलेज र आयुर्वेदिक अस्पतालाई कोरोना अस्पतालका रुपमा प्रयोग गरी त्यहाँ तत्काल पाँच सय शैयाको उपचारका लागि शैया, चिकित्सक, स्वास्थ्यकर्मी, भेन्टिलेटर, आईसियुको व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिए ।

सुदूरपश्चिममा एम्बुलेन्स र शव बाहनको समेत चरम अभाव देखिएकोले तत्काल एम्बुलेन्स र शव बाहनको संख्या थप गरियोस, पत्रकार सम्मेलनमा नेता रावलको आग्रह थियो, स्वास्थ्य अवस्था जटिल भएका संक्रमितहरुलाई थप उपचारका लागि प्रदेश लैजानु पर्ने भएकोले सुदूर पश्चिममा कम्तिमा एउटा हेलिकोप्टरको व्यवस्था गरियोस ।

उनले पीसीआर परीक्षणको दायरा बढाउन र हरेक जिल्लामा पीसीआर ल्यावको अविलम्ब व्यवस्था गरि २४ सै घण्टा पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसंग माग गरे ।भ्याक्सिन र स्वास्थ्य सामग्रीमा सरकारले गरिरहेको कार्टेलिङ र कमिसनखोरी बन्द गर्न आग्रह गर्दै नेता रावलले भने, कोेरोना खोप सम्पूर्ण नागरिकका लागि सर्बसुलभ गरियोस । हरेक नागरिलाई खोपको व्यवस्था गरियोस ।

नेता रावलले कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न समेत आमजनतासंग अपिल गरे ।सरकारका गतिबिधि र क्रियाकलाप प्रति बिमती रहेपनि कोराना रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सदैव सरकारको साथमा रहेको नेता रावलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update