Hamro Patra
सुदूरपश्चिममा एक दर्जन संक्रमितको एकैदिन मृत्यु

टीकापुर, बैशाख १६

कोरोनाको दोश्रो लहर फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा आज मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ७, कञ्चनपुरका ४, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ की ५० वर्षीया एक महिलाको नेपालगञ्जमा मृत्यु भएको छ । उता, धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । संक्रमण पुष्टि भएको १२ घण्टामै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

Khadga Memorial And Janajagriti

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार आजै घोडाघोडी नगरपालिका-१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिएका छन् ।

यस्तै अछामका एक वृद्धको पनि मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका-५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । ढुंगानाको नेपालगञ्जबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update