Hamro Patra
टीकापुर अस्पतालमा १५ बेडको कोरोना वार्ड सञ्चालन

टीकापुर, बैशाख १६

कैलालीको टीकापुर अस्पतालले आजदेखि १५ बेडको कोरोना वार्ड सञ्चालनमा ल्याएको छ । कोरोनाका जटिल समस्या भएका विरामीलाई अक्सिजनसहितको उपचारका लागि १५ बेडको कोरोना वार्ड सञ्चालनमा ल्याइएको हो ।

टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले जटिल समस्या भएका, अक्सिजन आवश्यक पर्ने विरामीलाई लक्षित गरी कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको बताए ।

Khadga Memorial And Janajagriti

‘आइसियु नै भन्न मिल्दैन, हामीले त्यो सेवा दिन सक्दैनौं, अवस्था जटिल छ’ डाक्टर राइले भने ‘तर अक्सिजन चाइने खालका विरामीलाई लक्षित गरी एचडियु वार्ड सञ्चालनमा ल्याएका छौं ।’

अस्पतालका कोभिड फोकल पर्सन डाक्टर रमेशप्रसाद उपाध्यायले अक्सिजनसहित मोनिटर राखिएको वार्ड भए पनि आइसियु सञ्चालनका लागि जनशक्ति अभाव रहेको बताए ।

उनका अनुसार केही जटिल समस्या भएका विरामीलाई राख्नका लागि वार्ड सञ्चालनमा ल्याइएको हो । आजैदेखि उक्त वार्डमा ६ जना विरामी राखिएको छ । जसमध्ये २ जना कोरोना संक्रमित छन् भने ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

टीकापुर नगरपालिकासँगको सहकार्यमा टीकापुर सिटी हलमा कोरोना आइसोलेसन अस्पताल सञ्चालन गरिने बताउँदै डाक्टर उपाध्यायले हाल सञ्चालनमा ल्याइएको वार्डमा आइसियुको सामान भए पनि जनशक्ति अभावका आइसियु सञ्चालन सम्भव नभएको बताए ।

‘आइसियुको सामान त छ, तर हामीसँग जनशक्तिको अभाव भएका कारण सञ्चालन गर्न सकेको छैनौं’ उनले भने ‘तर मोनिटर र अक्सिजनसहितको सुविधा हुँदा समेत कोरोनाका विरामीलाई उपचारमा सहज हुनेछ ।’

टीकापुर अस्पतालमा अन्तर्राष्टिय गैरसरकारी संस्था कोइकाले यसअघि आइसियु, एनआइसियु सञ्चालनका लागि अत्याधुनिक उपकरणहरु उपलब्ध गराएको थियो । जनशक्ति अभावमा ती मध्ये कतिपय उपकरणहरु प्रयोगविहिन जस्तै बनेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update