Hamro Patra
लोकतन्त्र प्राप्तिको शक्ति सञ्चार क्षेत्रः मन्त्री शाह

धनगढी, वैशाख ११

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले लोकतन्त्र प्राप्तिको शक्ति सञ्चार क्षेत्र रहेको बताएका छन् । लोकतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट बोल्दै लोकतन्त्रको शक्ति सञ्चार क्षेत्र भएको बताए ।

Khadga Memorial And Janajagriti

उनले भने ‘संविधानमाथिको बलात् आक्रमण, विधिको शासनको खिल्ली उडाउँदै देश राजनीतिक संकटमा परेका बेला सञ्चार क्षेत्र समेत अछुतोे रहँदैन ।’ उनलो प्रेस स्वतन्त्रताका लागि अझै लडाई लड्नुपर्ने औंल्याउँदै श्रीपेच लगाएका राजा हटे टोपी लगाएका श्री ५ हरु रहेसम्म देशमा संकट आइरहने बताए । उनले देशको राजनीतिक अवस्थाका बारेमा समेत पत्रकार महासंघको धारणा आउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रित समितिका महासचिव रोशन पुरीले सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्दै आएको बताउँदै पत्रकारलाई १ करोडसम्म जरिवाना गरिने कानुनको विरोध जारी रहेको बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समेत प्रेसलाई दबाउन खोजेको आरोप लगाउँदै महासचिव पुरीले यस्ता गतिविधि विरुद्ध सडकमा आन्दोलन गर्न बाध्य हुने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष योगेश रावलले आफू सदैव पत्रकारहरुको हकहित, पेशागत सुरक्षाका लागि लड्ने बताएका छन् । आफू महासचिव रहँदा पत्रकारका सुख दुःखसँग साक्षात्कार गर्न पटक पटक सबै जिल्लामा पुगेको बताउँदै अध्यक्ष रावलले कुनै पनि पत्रकारलाई विभेद नगर्ने बताए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष अर्जुन शाहले महासंघमा सक्षम नेतृत्व हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

निर्वाचनबाट अध्यक्षमा रावल, उपाध्यक्षमा डोटीका योगेन्द्र बलायर, महासचिवमा कञ्चनपुरका रामसिंह ठगुन्ना, सचिवमा कैलालीका हरिप्रसाद जोशी, समावेशी सचिवमा दार्चुलाका प्रेम चुनारा, कोषाध्यक्षमा डडेल्धुराका राम धामी निर्वाचित भएका थिए । समितिको महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update