Hamro Patra
जडिबुटी उद्योगद्वारा क्षमता वृद्धि

योगेश रावल
टीकापुर, बैशाख ६
टीकापुरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि. ले आफ्नो उत्पादन क्षमता बढाएको छ । किसानहरुको जडिबुटी खेती तर्फ आकर्षण बढेसँगै कम्पनीले उत्पादन क्षमता बढाएको हो ।

कम्पनीले यसै वर्षदेखी ४ हजार केजी तेल उत्पादन गर्न सक्ने क्षमताको नयाँ मेसिन सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको मेसिन नयाँ प्रविधियुक्त भएको कम्पनीले जानकारी दिएको छ । यसअघि कम्पनीसँग २२ सय केजी तेल उत्पादन गर्न सक्ने क्षमताको मेसिन थियो । सो मेसिन समेत चालु अवस्थामा रहेको निमित्त कार्यालय प्रमुख प्रेम रावलले जानकारी दिए ।

उत्पादन क्षमता बढाएसँगै कम्पनीले उत्पादन लक्ष्यमा समेत वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीले ४ हजार लिटर मेन्था र १५० लिटर क्यामोमाइलको तेल उत्पादन गर्ने लक्ष्य राखेको छ । गतवर्ष भने कम्पनीले मेन्था १३ सय केजी र क्यामोमाइल ९० केजी तेल उत्पादन गरेको थियो ।

Khadga Memorial And Janajagriti

कैलालीको पूर्वी क्षेत्रका किसानहरुको जडिबुटी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कम्पनीका अनुसार जडिबुटी खेती गर्ने किसानको संख्या वर्षेनी बढ्दै गैरहेको छ । टीकापुर र भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकाका किसानहरुले जडिबुटी खेती गर्दै आएका छन । यसवर्षबाट बर्दगोरीया गाउँपालिकाका ३ जना किसानले समेत जडिबुटी खेती सुरु गरेको निमित्त प्रमुख रावलले बताए ।

यो वर्ष क्यामोमाइल ५८ र मेन्था साढे ५३ विगाहमा खेती भएको छ । कम्पनीका अनुसार गतवर्ष क्यामोमाइल ३९ र मेन्था साढे ३२ विगाहमा भएको थियो । गतवर्ष जडिबुटी खेतीमा संलग्न हुने घरपरिवारको संख्या ९९ मात्रै थियो भने यो वर्ष १५२ घरपरिवार जडिबुटी खेतीसँग जोडिएका छन । ‘जडिबुटी खेती गर्ने किसानको संख्या वर्षेनी बढ्दै गएको छ’ निमित्त प्रमुख रावलले भने–‘आगामी वर्षका लागि किसानहरु अहिले देखी नै सम्पर्कमा आउन थालिसकेका छन ।’

किसानको जडिबुटी खेती तर्फ आकर्षण बढ्नुका धेरै कारण छन । त्यो मध्ये मुख्य कारण छाडा चौपायाको आतंक पनि एक हो । छाडा चौपायाको आतंकले अन्य खाद्यान्न बाली उत्पादन गर्न समस्या भएपछि किसानहरु जडिबुटी खेती तर्फ आकर्षित हुन थालेका छन ।

जडिबुटी खेतीलाई छाडा चौपायाले कुनै हानी नोक्सानी नगर्ने किसानहरु बताउँछन । अन्य खाद्यान्न बाली खेती गर्दा छाडा चौपायाबाट जोगाउन मुस्किल भएकाले जडिबुटी खेती गर्न थालेको किसान धनीराम चौधरीले बताए ।
‘धान, गहुँ, मकै लगायतका बाली छाडा चौपायाबाट जोगाउन सकिदैन’ उनले भने–‘जडिबुटी खेती ग¥यो भने छाडा चौपायाको डर हुँदैन ।’

जडिबुटी खेती छाडा चौपायाबाट जोगाउन सहज हुने मात्रै हैन यो नगदेबालीका रुपमा विकास भएको छ । किसानले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन । कम्पनीले किसानले उत्पादन गरेको जडिबुटी खरिद गर्ने गरेको छ ।

टीकापुर नगरपालिका–१ वनगाउँ बीचकापुरुवाका राजेन्द्र चौधरीले क्यामोमाइल र मेन्था दुवै खेती गर्दै आएका छन । उनले अन्य खाद्यान्न बाली भन्दा राम्रो आम्दानी भैरहेको बताए । ‘खाद्यान्न बाली भन्दा आम्दानी बढी छ’ उनले भने–‘त्यसैले जडिबुटी खेती गर्दै आएको छुँ ।’

जडिबुटी खेती गर्दा धेरै सहज हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भैरहेका छन । उनीहरुले हरेक वर्ष जडिबुटी खेती बिस्तार गर्दै लगेका छन । जानकी गाउँपालिकाका उमेश न्यौपाने गतवर्ष परिक्षणका रुपमा ५ कठ्ठा जमिनमा क्यामोमाइल खेती गरेका थिए । त्यसबाट राम्रो आम्दानी भएपछि उनले यसवर्ष १५ कठ्ठामा यो खेती गरेको बताए । ‘अन्य खेती गर्दा समयमा बेच्न पाईदैन । आफूले भने जस्तो मूल्य पनि पाईदैन’ उनले भने–‘जडिबुटी खेती बेच्न समस्या छैन ।’

प्राविधिकका अनुसार मेन्था माघ÷फागुनमा रोप्ने र जेठ÷असारमा उत्पादन हुन्छ भने क्यामामाइल कात्तिक÷मंसिरमा रोप्ने र फागुन÷चैतमा उत्पादन हुन्छ । कम्पनीले किसानले उत्पादन गरेको जडिबुटी टीकापुरस्थित उद्योगमा प्रशोधन गर्ने गरेको छ । कम्पनीले जडिबुटीबाट उत्पादन भएको प्रशोधित तेल औषधीजन्य वस्तुको कच्चा पदार्थका रुपमा प्रयोग गर्ने गरेको कार्यालय प्रमुख कमल बेल्बासेले जानकारी दिए । उनले यस्तो तेल कम्पनीद्वारा उत्पादित सन्चो, हिमालयन मसाज तेल, सन्चो बाम लगायतमा प्रयोग हुने गरेको बताए । यस्तो तेल यसका अतिरिक्त विभिन्न सुगन्धित सामाग्रीमा समेत प्रयोग हुने गरेको बताईन्छ ।

कम्पनीले सरकारले तोकेको दररेटमा किसानले उत्पादन गरेको जडिबुुटीबाट उत्पादित प्रशोधित तेल खरिद गर्ने गरेको छ । कम्पनीले किसानले उत्पादन गरेको जडिबुटीबाट कति तेल उत्पादन हुन्छ सोही अनुसार रकम भुक्तान गर्दै आएको छ ।

यो उद्योग वि.सं. २०४९ मा स्थापना भएको हो । यसले आव २०६७÷०६८ पछि मात्रै गति लिएको देखिन्छ । त्यसपछिका वर्षहरुमा खेती बिस्तार र उत्पादनमा क्रमिक रुपमा वृद्धी हुँदै गैरहेको छ । कम्पनीले किसानलाई निशुल्क बेर्ना दिँदै आएको छ । किसानलाई बेर्ना उत्पादनका लागि कम्पनीसँग साढे चार विगाह जमिन छ । कार्यालयले जडिबुटी खेतीमा आउने रोगब्याधीका बारेमा समेत निशुल्क प्राविधिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update