Hamro Patra
लक्ष्य भन्दा ३५ प्रतिशतले राजश्व वृद्धि

टीकापुर, वैशाख ९

कैलालीको सुदूरपूर्वी खक्रौलास्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को श्रावणदेखि चैत मसान्तसम्म लक्ष्य भन्दा ३५ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले सत्ती भन्सार कार्यालयलाई आर्थिक वर्षको शुरुमा ६ करोड, ७ लाख रुपैयाँ राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । उक्त लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप ८ करोड बढाएर १४ करोड रुपैयाँ राजश्व संकलनको वार्षिक लक्ष्य तोकेको थियो ।

Khadga Memorial And Janajagriti

चैत मसान्तसम्ममा ९ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकोमा १३ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरिएको भन्सार प्रमुख विमलकुमार साहले जानकारी दिए । साहका अनुसार राजश्व संकलनको वार्षिक लक्ष्य वैशाखभित्रै पूरा गर्न सकिने भएको छ ।

सत्ती भन्सार कार्यालयको बाटो भएर कोइला, कपडा, मोटरपार्टस्, हार्डवेयर लगायतका सामानहरु आयात भइरहेकाले राजश्वमा वृद्धि भएको साहले बताए । उनका अनुसार कोरोना संक्रमणपछि सिमा नाका खुल्ला नहुँदा समेत राजश्व वृद्धि भएको हो ।

योसँगै भारतको तिकुनियाँदेखि खक्रौलासम्मको सडकको स्तरोन्नति गरेर भन्सारमा नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन सञ्चालन गर्न सके अझै बढी राजश्व संकलन हुने शाहले बताए ।

उता, त्रिनगर भन्सार कार्यालय, धनगढीले आर्थिक वर्षको पछिल्लो ९ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म ५ अर्ब, ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा ६ अर्ब, ९२ करोड रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।

त्रिनगर भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहँु, भुजिया, दालमोठ, बिस्कुट, आलु जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ ।

सरकारले सिमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी सीमा तस्करी नियन्त्रणमा ध्यान दिए उल्लेख्य रुपमा राजश्व संकलनमा वृद्धि हुने बताइन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update