Hamro Patra
छ लेन सडक निर्माणमा ढिलासुस्ती

टीकापुर, बैशाख ७

निर्माण अवधि सकिँदा समेत बहुप्रतिक्षित छ लेन सडक निर्माणको कार्य आधा समेत हुन सकेको छैन । टीकापुर नगरपालिका वडा नं. १ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटी अन्तर्गत निर्माण हुन लागेको छ लेन सडक निकै सुस्त गतिमा निर्माण भइरहेको छ ।

२०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको सडक समयावधि सकिँदा समेत आधा समेत निर्माण हुन सकेको छैन । संघीय सरकारको २० करोड लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर छ लेन सडक रमण केएस जेभीले निर्माण गरिरहेको छ ।

Khadga Memorial And Janajagriti

कम्पनीले सडकमा नाला, कल्भर्ट र वाल निर्माणको काम गरिरहेको छ । समयवधि सकिँदा समेत सडकको बेस समेत नबन्दा स्थानीय आक्रोशित बनेका छन् । कम्पनीले यसअघि कालोपत्रे रहेको सडक खनेर बिच बिचमा थुपारेको छ । सडकको बेस समेत निर्माण नहुँदा सडक धुलाम्मे बन्न पुगेको हो ।

निर्माण कम्पनीको लापरवाहीका कारण मुख्य सडक क्षेत्रका बासिन्दाले दिनहुँ धुलो खानु परेको स्थानीय ब्यापारीहरु बताउँछन् । ‘निर्माण कम्पनीको लापरवाहीले सडकमा धुलो उडेर हैरान छौं’ व्यापारी रुपकबहादुर विष्टले भने ‘कोरोनाको भन्दा पनि बढी हामीलाई यो धुलोको समस्या छ, बाहिर राखेको सामान समेत बिग्रिन्छ, वैशाखको महिनामा हावा चल्दा त स्वाँस फेर्न समेत मुश्किल हुने अवस्था छ ।’

यसअघिको कालोपत्रे समेत निर्माण कम्पनीले खनेर सडकमै थुपारेको छ । बाटोमा खाल्डाखुल्डी छन् । कालोपत्रे खनेर ग्राभेल मात्रै राख्दा सडक दुर्घटना हुने गरेको छ । केहीदिन अघि उक्त सडक खण्डमा दमकलले दुई सडक यात्रीलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

निर्माण कम्पनीको लापरवाहीका कारण स्थानीयले सास्ती खेप्नु परेको बताउँदै टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेशकुमार खत्रीले निर्माण कम्पनीले जुन गतिमा काम गरिरहेको छ, यसले निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्ने आशंका व्यक्त गरे ।

‘निकै सुस्त गतिमा काम भइरहेको छ, सडकको नाला बनाउने काम भएको छ, अरु थुप्रै काम बाँकी छ’ पूर्व अध्यक्ष खत्रीले भने ‘यही गतिले काम हुने हो भने निर्माण हुन धेरै समय लाग्न सक्छ ।’ खत्रीले निर्माण कम्पनीलाई स्थानीय सरकार र सरोकारवालाले दबाव दिनुपर्ने बताए । ‘एकातिर धुलो, धुवाँले स्वास्थ्यमा निकै असर गरिरहेको छ भने अर्कोतिर यही गतिमा यो काम सकिनै मुश्किल छ । यसकारण हामीले दबाव दिन आवश्यक छ ।’

टीकापुरको मुख्य बजार क्षेत्रमा पर्ने उक्त सडक निर्माण गर्दा नियमित पानी छर्किन भने पनि निर्माण कम्पनीले आलटाल गर्दै आइरहेको छ । टीकापुर नगरपालिकाले निर्माण कम्पनीलाई पटक पटक बोलाएर निर्माण कार्य तत्काल सम्पन्न गर्न दबाब दिँदै आएको भए पनि कम्पनीले आलटाल गर्दै आइरहेको नगर उपप्रमुख केशरी विष्ट रावलले बताइन् ।

‘निर्माण कम्पनीले २ किलोमिटर सडक बनाउन अनेक बाहाना गर्दै आइरहेको छ, हामीले पटक पटक बोलाएरै भनेका छौं’ उपप्रमुख विष्टले भनिन् ‘सडक डिभिजन कार्यालय, सम्बन्धित इञ्जिनियर, निर्माण कम्पनीलाई ताकेता गर्दा पनि सडकले गति लिन सकेको छैन ।’ समयमा सडक निर्माण नहुँदा अन्य विकास निर्माणका कार्य समेत प्रभावित बन्ने अवस्था आएको उनले बताइन् ।

निर्माण कम्पनीले भने सडकखण्डमा पर्ने ३३ केभी प्रसारण लाइन र लकडाउनका कारण निर्माण कार्य प्रभावित बनेको बताउँदै आएको छ । विद्युतले प्रसारण लाइन अन्र्तगतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । उक्त सडक खण्डमा ३३ केभी अन्र्तगतका १४ वटा पोल परेका छन् । जुन ७ वटा टावर र ७ वटा टिबलर पोल रहेका छन् । यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएका हुन । तत्कालिन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रशारण लाइन बजारको मध्य भागमा पर्न गएको छ ।

निर्माण कम्पनीका इञ्जिनियर गगन शाहीले विद्युतीय पोल र लकडाउनका कारण निर्माण कार्य समयमा नसकिएको बताए । ‘सडकमा पर्ने विद्युतीय पोलका कारण हामीलाई कम्पेक्सन गर्न गाहे भएको हो, ९ महिना जति लकडाउनले काम गर्न सकिएन’ इञ्जिनियर शाहीले भने ‘त्यसकारण केही ढिलो भए पनि हामी ४ लाइन कालोपत्रेको काम असारभित्र सक्ने गरी तयारी गरेका छौं ।’ उनले कम्पनीले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको बताए ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडकखण्ड वर्षायाम अघि सम्पन्न नहुनेमा स्थानीयले आशंका गर्दै आएका छन् । निर्माणमा चरम लापरवाही हुँदा समेत स्थानीय तह समेत मौन बसेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update