Hamro Patra
काँग्रेस सर्वदलीय सरकारको नेतृत्व गर्न तयार ः सहमहामन्त्री डा. महत

टीकापुर, चैत ३
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस सर्वदलीय सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन ।

कैलालीको टीकापुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. महतले तर अहिलेकै अवस्थामा भने काँग्रेसलाई सरकारमा जाने हतार नभएको बताए ।
‘सर्वोच्च अदालतको फैसलापछि एमालेसँग मात्रै १२१ सिट छ, काँग्रेससँग ६१ मात्रै छ’ उनले भने ‘सरकार बनाउन १३८ सिट आवश्यक पर्नेमा सबैलाई मिलाउँदै शर्तहरु थप्दै सरकारमा जानुको औचित्य रहन्न ।’ उनले भने–‘तर सबैको आग्रह पश्चात उपयुक्त समय आए काँग्रेसले नेतृत्व गर्नेछ ।’

Khadga Memorial And Janajagriti

उनले वर्तमान सरकारले काम गर्न नसकेर देशलाई अन्यौलतातर्फ धकेलेको आरोप लगाए । उनले जनताले दुई तिहाई बहुमत दिएको सरकारबाट कुनै उपलब्धीपूर्ण काम हुने नसकेको बताए ।

उनले पछिल्लो अवस्थामा काँग्रेस नेतृत्वले अख्तियार गरेको रणनीति परिपक्व भएको बताए । ‘संसद पुर्नस्थापनामा होस् वा अहिले सरकार बनाउने कुरामा होस् काँग्रेसले लिएको नीति उपयुक्त छ’ उनले भने ‘संविधानतः पार्टी नफुट्दै सरकारमा जानका लागि काँग्रेसले पहल गर्नु उपयुक्त हुँदैन ।’

उनले काँग्रेसले आगामी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने कानुनी जटिलतालाई मध्यनजर गर्दै काम गरिरहेको जानकारी दिए । उनले क्रियाशील सदस्यहरुको विवाद तत्काल समाधान गर्दैै महाधिवेशनमा होमिन सबैलाई आग्रह गरे । काँग्रेसले आगामी भदौसम्ममा अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

सोही कार्यक्रममा पूर्वमन्त्री रामजनम चौधरीले महाधिवेशन पछि मात्रै काँग्रेस सत्तामा जानुपर्ने बताए । उनले अहिले नै सत्तामा गए पार्टी भित्र विवाद बढ्ने बताउँदै पहिले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेस पूर्व केन्द्रिय सदस्य चन्द्रसिँह भट्टराई, काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, संविधान सभा सदस्य राजिव विक्रम शाह लगायतले बोलेका थिए । कार्यक्रम कैलाली क्षेत्र नं. १ प्रदेश ख ले आयोजना गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update