Hamro Patra
एमालेका दुई पक्षको वार्ता बिना निष्कर्ष, माओवादी केन्द्रको बैठक स्थगित

काठमाण्डौं, चैत २
नेकपा एमालेका दुई पक्षबीच भएको आजको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते शुक्रबार केन्द्रीय कमिटीबाट भएका निर्णय सच्याउनुपर्ने माधव नेपाल पक्षको प्रस्ताव अस्विकार गरेका छन ।

एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा ओलीले फागुन २८ गतेका निर्णय सच्याउन तयार नभएपछि वार्ता सकारात्मक हुन नसकेको नेताहरुले बताए ।

‘तपाईंले एकपक्षीय रुपमा गरेका निर्णयलाई कसरी पार्टीको निर्णय भन्न सकिन्छ ? गुटका निर्णयलाई कसरी पार्टी निर्णय मान्न सकिन्छ ? हामी मान्न सक्दैनौं भनेर नेपाल कमरेडले भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर, ओली कमरेडले त्यो पार्टीकै निर्णय हो । बरु तपाईंले गर्नुभएको छ नि के–के त्यो गुट हो । त्यो सच्याउने कुरा हुँदैन । त्यसलाई मानेर जाऔं भन्नुभयो । त्यसले वार्ता सकारात्मक भएन ।’

Khadga Memorial And Janajagriti

उनका अनुसार ओलीसँगको छलफलपछि नेपालपक्षका नेताहरुबीच केही समय छुट्टै छलफलसमेत भएको थियो । ‘उहाँहरुसँगको छलफल सकिएपछि केहीबेर हामी छुट्टै बसेका थियौं । हाम्रो निष्कर्ष भनेको प्रधानमन्त्रीको अडानले एकताको वातावरण अगाडि बढेन । एकताबद्ध गर्ने प्रयत्न भन्दा पनि औपचारिकता जस्तै भयो,’ ती नेताले भने ।

आजको वार्ता सकारात्मक नभएपछि मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेपाल पक्ष सहभागी हुने सम्भावना कम रहेको ती नेताले बताए ।

परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पनि सोमबारको बैठक सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेको स्वीकार गरेका छन् । आफूहरुले २८ गतेको बैठकको निर्णयअनुसार अघि बढ्नुपर्ने तर त्यसमा केही सुधार वा पुनरावलोकन गर्न सकिने विषयमा दुई पक्षबीच छलफल भएको बताए ।

त्यस्तै नेपाल समूहले चैत ४ र ५ गतेलाई डाकेको राष्ट्रिय कार्यकर्ता भेला फिर्ता गर्न अनुरोध गरिएको ज्ञवालीले बताए ।

सर्वोच्च अदालतले गरेको निर्णय पछि नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै ढंगले अघि बढेका छन । उनीहरुबीचको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

उता, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् । अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update