Hamro Patra
सुकुम्बासीलाई फकाउदै आयोगका दुई पक्ष

टीकापुर, चैत २
टीकापुर नगरपालिकामा रहेका भूमिहिनलाई आफ्नो पक्षमा पार्न भूमि सम्बन्धी समस्या समाधान आयोगका दुई पक्ष सकृय देखिएका छन ।

आयोगका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि अगस्त अधिकारी र कैलाली जिल्ला अध्यक्ष दीपकप्रसाद देवकोटा यस कार्यमा सकृय देखिएका छन । केन्द्रिय प्रतिनिधि अधिकारीले बस्तीमै पुगेर भूमिहिन सुकुम्बासीलाई भेटघाट गरेका छन । उनीसँगै टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष गंगाराम आचार्य, कार्यपालिका सदस्य अक्कल माझी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खडक शाह, एमाले नेता भैरव रावल लगायत एकतानगर शिविर पुगेका थिए ।

केन्द्रिय प्रतिनिधि अधिकारीको टोली बस्तीमै पुगेको तेस्रो दिन आज अध्यक्ष देवकोटाले केही भूमिहिन सुकुम्बासीका अगुवाहरुलाई टीकापुरस्थित सिद्धार्थ होटलमा बोलाएर भेटघाट गरेका छन ।

Khadga Memorial And Janajagriti

भूमिहिन सुकुम्बासीका अगुवाहरुसँग सिद्धार्थ होटलको हलमा भएको भेटघाटमा नेकपा एमाले भित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो । त्यहाँ टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल समेत उपस्थित थिए ।

आयोगका कैलाली अध्यक्ष देवकोटा स्थानीय तहका पदाधिकारीहरुका लागि आयोजित भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको अवधारणा र प्रकृयागत पक्षहरु विषयक अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्न टीकापुर पुगेका थिए ।

सो कार्यक्रममा आयोगको काम कारवाहीका बारेमा जानकारी दिँदै अध्यक्ष देवकोटाले केन्द्रिय प्रतिनिधि अधिकारीको सकृयता प्रति असन्तुष्टी व्यक्त गरे । उनले केन्द्रिय प्रतिनिधिको काम सहजीकरण गर्ने मात्रै भएको बताउँदै कार्यकारी भूमिका नभएको बताए ।

उनले आयोगको काम कारवाहीमा केन्द्र भन्दा जिल्ला र जिल्ला भन्दा स्थानीय तह र वडा कार्यालय बढी जिम्मेवार रहेको बताए । ‘तपाई हामी बढी जिम्मेवार छौं’ टीकापुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले भने–‘अरु कोही आएर केही हुँदैन । सबै कुरा हामीले गर्ने हो । यो तपाई हाम्रो जिम्मेवारी हो ।’

एक जिज्ञासामा अध्यक्ष देवकोटाले केन्द्रिय प्रतिनिधि अधिकारीले आफ्नो काम, कर्तव्य र अधिकार नचिनेर राजनीति गर्दै हिँडेको आरोप लगाए । ‘उहाँले आफूलाई नचिनेको हो कि जस्तो महशुस भैरहेको छ’ उनले भने–‘दिने हामीले हो । हामी काम गर्दै हिँडेका छौं । उहाँ राजनीति गर्दै हिँड्नु भएको छ ।’

केन्द्रिय प्रतिनिधि अधिकारीले अध्यक्ष देवकोटाको आरोप अस्विकार गरेका छन । उनले टेलिफोन कुराकानीमा आफू राजनीति गर्न नभई आयोगको काम कारवाहीका बारेमा जनतालाई जानकारी दिन सुकुम्बासी बस्तीमा पुगेको बताए ।

‘म आयोगको प्रतिनिधि हुँ । आयोगकै बारेमा जानकारी दिन त्यहाँ पुगेको हुँ’ उनले भने–‘मैले राजनीति गरेको छैन ।’

उनले आयोगका कैलाली अध्यक्ष देवकोटाले जेजस्तो आरोप लगाए पनि सहमतिमै काम भैरहेको बताए । उनले आफूहरुबीच कुनै खालको विवाद नरहेको दावी गरे । अध्यक्ष देवकोटाले समेत आफूहरुबीच विवाद भने नरहेको बताएका छन ।

टीकापुर नगरपालिकाको वडा नं. १ र २ मा मात्रै झण्डै २ हजार भन्दा बढी भूमिहिन सुकुम्बासी घरपरिवार बस्दै आएका छन । उनीहरु मध्ये मुक्त कमैया र पहाडी जिल्लाबाट बसाई सरेर आएकाहरु छन । ती मध्ये धेरैजसो मतदाता छन ।

तिनै मतदातालाई आफ्नो प्रभावमा पार्न आयोगका दुई पक्षले प्रयास गरिरहेका छन ।

राजनीतिक दलहरुको संरक्षणमा विगत १५ वर्षदेखी टीकापुर बहुमुखी क्याम्पसको ३ सय विगाह जमिन सुकुम्बासीका नाममा कब्जा छ । त्यहाँ बसेका सुकुम्बासीहरुलाई भोट बैंकका रुपमा प्रयोग गर्न राजनीतिक दलहरुले संरक्षण दिँदै आएको स्थानीयको आरोप छ ।

आयोगका केन्द्रिय प्रतिनिधि सुकुम्बासी बस्तीमा । तस्विर स्रोतः खडक शाहको फेसबुक

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update