Hamro Patra
प्रस्ताव उपर निर्णय नगर्दै सकियो नगरसभा

टीकापुर, फागुन १८
टीकापुर नगरपालिकाको आठौं नगर सभा वडा विभाजनको प्रस्तावमा निर्णय नै नगरी आज समापन गरिएको छ । वडा विभाजनको विषय पेचिलो बनेपछि नगरसभा स्थगित भएको थियो ।

वडा विभाजनको विषयलाई लिएर नगर सभा सदस्यहरुबिच सहमति जुट्न नसकेपछि हाललाई उक्त प्रस्तावमा कुनै निर्णय नै नगरी नगर सभा समापन गरिएको हो ।

पुस २६ गते शुरु भएको आठौं नगर सभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि पुष २७ गतेदेखि स्थगित गरिएको थियो ।

Khadga Memorial And Janajagriti

वडा विभाजनको विषयलाई लिएर सहमति जुट्न नसकेपछि उक्त विषयमा थप तयारीसहित छलफल गर्ने गरी हाललाई नगर सभा समापन गरिएको कार्यपालिका सदस्य रमेश विश्वकर्माले बताए ।

‘वडा विभाजनको विषयमा सहमति हुन नसकेपछि स्थगित भएको थियो’ विश्वकर्माले भने ‘उक्त विषयमा निर्णय हुन नसक्ने अवस्था भएपछि हाललाई नगर सभा समापन गरिएको छ, यो विषयमा थप छलफल गरेर जाने कुरा छ ।’

वडा विभाजन गर्नका लागि पर्याप्त छलफल गर्नुपर्ने बताउँदै नगर सभा समापन भए पनि सहमति जुटाउन सके विशेष नगर सभा आव्हान गरेर उक्त विषय टुंगोमा पुर्याइने नगर प्रमुख तपेन्द्र रावलले बताए ।

‘यसमा सहमति हुन नसकेपछि यहाँस्थित सबै पक्ष, राजनीतिक दलहरुसँग थप छलफल गरेर विशेष नगर सभा बोलाएर उक्त विषय टुंगोमा पुर्याउने छौं’ रावलले भने ‘हाललाई नगर सभा भने समापन गरेका छौं ।’
वडा विभाजनको मुद्दा नागरिकस्तरमा समेत पुगेको छ । वडा नं. २ का बासिन्दाले प्रस्तावको विरोधमा आन्दोलित हुने चेतावनी दिएका थिए ।

वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो ।

कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरुले प्रस्ताव प्रति असहमति जनाउँदै आएका थिए । कार्यपालिका सदस्यहरुको असहमतिलाई वेवास्ता गर्दै सो प्रस्ताव नगरसभामा पेश गरिएको थियो ।

कार्यदलले नगरसभामा वडा नं. १ लाई ४ र वडा नं. २ लाई २ वडामा विभाजन गर्ने प्रस्ताव पेश गरेको थियो । हाल नगरपालिकामा ९ वटा वडा छन । वडा नं. १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ ५० हजारको हाराहारीमा जनसंख्या छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तिमा ६४०० जनसंख्या हुनुपर्ने प्रावधान छ । जनसंख्याका आधारमा वडा नं. १ कम्तिमा ६ वडामा विभाजन गर्न सकिने देखिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाईले पारित गर्नुपर्ने उल्लेख छ । ६ जना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्यहरु नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमत समेत नपाउने देखिएको छ ।

नगरसभाको दुईतिहाईले पारित गरेपछि सो प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्ने हुन्छ । प्रदेश सभाले समेत पास गरेपछि कार्यान्वयनका लागि संघमा पठाउने प्रावधान रहेको छ । यो नगरसभाले वडा विभाजनको प्रस्ताव पारित नगरे नगरपालिकाको आगामी निर्वाचन साविककै अवस्थामा हुने देखिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update