Hamro Patra
जग्गादातालाई नगर पालिकाको सम्मान

टीकापुर, फागुन १८

कैलालीको टीकापुर नगरपालिकाले नगरपालिकाका विभिन्न कार्यालयहरु निर्माणका लागि जग्गा दान गर्ने दानीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

Khadga Memorial And Janajagriti

नगरपालिकाले वडा नं. ५ को कार्यालय निर्माणका लागि जग्गादान गर्ने सुशील सिंह र कमला विष्टलाई सम्मान गरेको हो । सिंहले वडा कार्यालय निर्माणका लागि ३ कठ्ठा जग्गा दान गरेका थिए भने विष्टले मनिकापुर शहरी स्वास्थ्य केन्द्र निर्माणका लागि २ कठ्ठा जग्गा दान गरेका थिए ।

त्यस्तै वडा नं. ६ को भगवानपुरमा बाढीबाट प्रभावितहरुका लागि सुरक्षित उच्च भवन निर्माण गर्न २ कठ्ठा २ धुर जग्गा दान गर्ने कुमारराज शाहीलाई सम्मान गरेको छ ।

यसैगरी वडा नं. ९ को झुंगामा वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माणका लागि ३ कठ्ठा जग्गा दान गर्ने सुमन श्रेष्ठलाई नगरपालिकाले दोसल्लासहित प्रमाणपत्र दिएर सम्मान गरेको हो ।

नगरपालिकाले उक्त कार्यक्रममा कोभिड १९ रोकथामका लागि सहयोग गर्ने विभिन्न व्यक्ति, संघ संस्थालाई समेत प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

नगर प्रमुख तपेन्द्र रावलले कोरोना महामारीमा विभिन्न किसिमका सहयोग गर्नु हुनेहरु प्रति नगरपालिका कृतज्ञ रहेको बताए । सबैको प्रयासबाट लकडाउनमा पीडित समक्ष राहत पुर्याउन सकिएको उल्लेख गर्दै रावलले विपद्को सामना सामुहिक रुपमा गरिएको बताए । सम्भवतः कैलालीमा सबैभन्दा बढी सहयोग टीकापुर नगरपालिकाले प्राप्त गरेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति धनराज उपाध्याय र जनता समाजवादी पार्टीका प्रतिनिधि वीरेन्द्र साउँदले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update