Hamro Patra
दुई ठाउँमा सीमा विवाद

योगेश रावल
टीकापुर, ५ बैशाख
कैलालीको टीकापुर र धनगढीका दुई ठाउँमा सीमा विवाद देखिएको छ । नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले सीमा विवाद देखिएका टीकापुर नगरपालिका–८ खक्रौला र धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा रहेका चारवटा सीमास्तम्भको काम स्थगन गरेको छ ।

टोलीका अनुसार खक्रौलास्थित ७०४÷५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलवारीस्थित ७४२, ७४२÷१, ७४२÷२ र ७४२÷३ नम्बरका सीमास्तम्भ पुर्ननिर्माण गर्नुपर्ने देखिन्छ । फूलवारीमा रहेका सबै सीमास्तम्भ हराएको अवस्थामा छन । ती सबै सीमास्तम्भ सार्दा र पुर्ननिर्माण गर्दा नेपाली भूमी भारततर्फ गाभिन लागेको भन्दै स्थानीयले विरोध जनाएपछि टोलीले काम स्थगन गरेको हो । स्थानीयको विरोध पछि टोली ती सीमास्तम्भको काम स्थगन गरेर अघि बढेको नेपालतर्फका प्रमुख सर्भे अधिकृत जनकराज भट्टले जानकारी दिए । ‘विवाद भएका ठाउँको काम रोकेर अन्य सीमास्तम्भको काम भैरहेको छ’ उनले भने–‘स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा विवाद भएका ठाउँको समस्या समाधान गर्छौ ।’

फूलवारीस्थित सीमास्तम्भ पुर्ननिर्माण गर्दा स्थानीय गौरीशंकर सामुदायिक वनको ठूलो हिस्सा भारतमा गाभिने सम्भावना रहेको छ । स्थानीयले वर्षौदेखी भोगचलन गर्दै आएको वन भारतमा गाभिन लागेको भन्दै विरोध जनाएका छन ।

Khadga Memorial And Janajagriti

त्यस्तै खक्रौलामा रहेको सीमास्तम्भ सार्दा नेपाली पक्षको धेरै भूभाग भारतमा गाभिने स्थानीयले बताए । उनीहरुले सो सीमा स्तम्भ सार्दा दुई जना स्थानीयको घरबास र करिव ५० विगाह नेपाली भूमी भारततर्फ गाभिने बताए ।
स्थानीय लक्ष्मी कोइरालाले आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको बताए । उनले आफ्नो करिव डेढ विगाह जमिन समेत मासिने जानकारी दिए ।

उनले २०२८ सालदेखी सो सीमा स्तम्भ यथास्थानमा देख्दै आएको बताए । उनका अनुसार सो क्षेत्रमा २०२२ सालमा बसोबास सुरु भएको हो । ‘म १८ वर्षको थिए । त्यतिबेला देखि नै यो पिल्लर यही ठाउँमा देखेको हुँ’ उनले भने–‘अहिले सीमा मिलाउने नाममा सार्न खोज्नु नेपाली भूमी अतिक्रमण गर्ने षडयन्त्र हो ।’

टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले समेत वर्षौदेखी यथास्थानमा रहेको सीमा स्तम्भ सार्न खोज्नु षडयन्त्र हो कि भन्ने महशुस भैरहेको बताए । उनले हाल यथास्थानमा रहेको सीमा स्तम्भका आधारमा अरु हराएका सीमा स्तम्भ खोज्नुपर्नेमा हराएकाको आधारमा यथास्थानकालाई सार्न खोज्नु न्यायोचित नभएको बताए । ‘यो पिल्लर त वर्षौदेखी यहीँ छ’ उनले भने–‘बरु यसका आधारमा अरु हराएका पिल्लर खोजिनु पर्छ ।’

स्थानीयले सो सीमा स्तम्भ सार्दा नेपाली भूमी भारतमा गाभिने मात्रै नभई मोहना नदीमा निर्माण भएको खक्रौला पुल समेत भारततर्फ पर्नसक्ने आशंका गरेका छन । उनीहरुले भारतले आफ्नो भूमी खक्रौला पुलसम्म पु¥याउन खोजेको हो कि भन्ने डर देखिएको बताए । ‘पिल्लरको थोरै कुना दायाँबायाँ ढल्काएर पुल आफ्नोतर्फ पार्न पनि सक्छन’ एक स्थानीयले आरोप लगाए–‘नेपाली पक्षले प्राविधिक कुरामा खाशै ध्यान दिएको छैन ।’ पुलको दक्षिण भाग नजिकै रहेको एक सीमा स्तम्भ यथास्थानमा छ भने अर्को मोहना नदीले बगाएको छ । सो सीमा स्तम्भ २०६४ सालमा आएको बाढीले बगाएको स्थानीय बताउँछन ।

टीकापुर नगरपालिका क्षेत्र भित्र मात्रै दुई देशका ५ मुख्य र १३ मझौला गरी १८ वटा सीमा स्तम्भ हराएका छन । दुई देशको टोलीले खोजी पछि बुझाएको प्रतिवेदनमा ७०२÷४ र ७०२÷७ नम्बरको मझौला सीमा स्तम्भ मोहना नदीले बगाएको उल्लेख छ । प्रतिवेदनमा अन्य सीमा स्तम्भ भने फेला नपरेको बताईएको छ ।

कैलाली र कञ्चनपुर जिल्लाका अन्य स्थानमा रहेका थुप्रै सीमा स्तम्भहरु समेत हराएका छन भने कतिपय जीर्ण अवस्थामा छन । ती हराएका सीमा स्तम्भ पुर्ननिर्माण गर्ने र जीर्ण अवस्थामा रहेकालाई मर्मत गर्न नेपाल र भारततर्फको संयुक्त उच्चस्तरीय टोलीले निर्णय गरेको छ ।

सोही निर्णयलाई कार्यान्वयन गर्न नापी विभागका उपमहानिर्देशक र सर्भे अफ इण्डियाका महानिर्देशकको नेतृत्वमा सर्भे अफिसियल कमिटी गठन भएको छ । सोही कमिटीले सीमा स्तम्भ पुर्ननिर्माण र मर्मतका लागि दुई देशको संयुक्त टोली खटाएको छ ।

नेपाल तर्फका प्रमुख सर्भे अधिकृत भट्टले कुन सीमा स्तम्भलाई पुर्ननिर्माण गर्ने र कुनलाई मर्मत गर्ने भन्ने कुरा दुई देशका उच्च अधिकारी सम्मिलित कमिटीले दिएको निर्देशन अनुसार नै टोलीले काम गरिरहेको दावी गरे । उनका अनुसार ३ डिग्री भन्दा बढी ढल्केको सीमा स्तम्भ पुर्ननिर्माण गर्नुपर्ने निर्देशन छ ।

कैलालीमा २८२ सीमास्तम्भ छन । ती मध्ये कतिपय हराएको अवस्थामा छन । त्यसमध्ये १२ वटा पुर्ननिर्माण गरिएको प्रमुख सर्भे अधिकृत भट्टले जानकारी दिए । उनले सोही हाराहारीमा भारतीय पक्षले पुर्ननिर्माण गरेको बताए । पुर्ननिर्माण गर्नुपर्ने सीमास्तम्भ मध्ये जोर नम्बर नेपाल र बिजोर नम्बर भारतीय पक्षले निर्माण गर्ने प्रावधान छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update