Hamro Patra
पत्रकार महासंघ कैलालीको साधारण सभा सम्पन्न

टीकापुर, फागुन ११
नेपाल पत्रकार महासंघ कैलालीको ११ औं वार्षिक साधारण सभा आज जोशीपुरमा सम्पन्न भएको छ । महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल रहेका थिए ।

उद्घाटन समारोहका प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले पत्रकारितालाई नियन्त्रण गर्न खोजेको बताए । उनले सरकारले समयमा अनलाइन नविकरण नगरे दर्ता खारेज गर्ने व्यवस्था पत्रकारितालाई नियन्त्रण गर्ने अभिप्रायले ल्याएको आरोप लगाए ।

Khadga Memorial And Janajagriti

‘२०४७ सालको संविधानले दिएको प्रेस स्वतन्त्रता समेत हनन् गर्ने काम भएको छ’ उनले भने–‘कुनै पनि बहनामा सञ्चार माध्यम दर्ता खारेज हुनु हुँदैन ।’

उनले महासंघ पत्रकार र पत्रकारिताको भौतिक र पेशागत सुरक्षा प्रति सदैव संवेदनशील रहँदै आएको बताए । उनले श्रमजीवी पत्रकारको हकमा महासंघले निरन्तर आन्दोलन गरेको स्मरण गराए । ‘हामी निरन्तर आन्दोलनमा रह्यौं’ उनले भने–‘सबै समस्या समाधान त हुन सकेको छैन तर केही उपलब्धी हासिल भने भएको छ ।’

उनले महासंघको हरेक सदस्यले आफ्नो नेतृत्व चयन गर्न पाउनुपर्ने मुद्दालाई वर्तमान कार्य समितिले स्थापित गर्न विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्था गरेको बताए । उनका अनुसार महासंघको तीनै तहको निर्वाचन एकैदिन एकैसमयमा हुनेछ । उनले कार्य समितिको बैठकले चैतको दोस्रो सातासम्ममा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष चाँदनी आचार्य, महासचिव योगेश रावल, अग्रज पत्रकारहरु घनबहादुर शाह, मनमोहन स्वाँर, करुणाकर पाण्डे, उमिद बागचन, कर्ण शाह, भुवनेश्वर अधिकारी लगायतले बोलेका थिए ।

सोही समारोहमा अग्रज पत्रकारहरु घनबहादुर शाह, मनमोहन स्वाँर, करुणाकर पाण्डे, उमिद बागचन, सिद्धराज भट्टलाई सम्मान गरिएको छ । प्रमुख अतिथि पोखरेलले सम्मानित अग्रज पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन । त्यस्तै नेपाल पत्रकार महासंघ कैलालीका पूर्वअध्यक्ष स्व. लीलानाथ ओझालाई मरणोपरान्त सम्मान गरिएको छ ।

साधारण सभाको बन्द सत्रले महासंघ कैलालीका सचिव मिन ठकुरीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हिमाल जोशीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update