Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको बन्द सत्र स्थगित, उद्घाटन समारोह सम्पन्न, पूराना ब्यापारी ठकुल्ला सम्मानित

टीकापुर, माघ २४
सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले प्रधानमन्त्रीले प्रदेशको संरचना नै खारेज गर्न सक्ने आशंका व्यक्त गरेका छन । टीकापुर उद्योग वाणिज्य संघले आफ्नो २१ औं वार्षिक साधारण सभाका अवसरमा प्रस्तुत गरेका माग सम्बोधन गर्ने क्रममा उनले प्रदेशको संरचना रहे मात्रै माग सम्बोधन हुनसक्ने बताए ।

‘प्रदेशले खुशी पार्न सकेन भने प्रधानमन्त्रीले खारेज गर्न सक्छन’ उनले भने–‘प्रधानमन्त्रीको अनुकम्पा रह्यो भने माग सम्बोधन गर्छु ।’

साधारण सभाका प्रमुख अतिथि समेत रहेका रावलले मुलुकको अर्थ व्यवस्था संकटमा फसेको बताएका छन । उनले कोरोनाले थला परेको अर्थ व्यवस्थालाई राजनीतिक अस्थिरताले संकटमा धकेलेको बताए ।

Khadga Memorial And Janajagriti

उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको अर्थ व्यवस्था नराम्ररी प्रभावित हुनसक्ने अनुमान गर्न थालिएको बताए । ‘ब्यापार व्यवशाय कोरोनाले त्यसै थला परेको थियो त्यसमाथि राजनीतिक अस्थिरताले झन समस्या थप्यो’ उनले भने–‘अर्थ व्यवस्थालाई पुनः कालकोठरीमा पुर्याउने प्रयत्न भैरहेको छ ।’

यसै प्रदेशका साँसद समेत रहेका रावलले आफूले अघि सारेका धेरै योजनामा सत्तापक्षले बजेट कटौती गरेको आरोप लगाए । उनले सनकट्टीघाटको पक्की पुल, दौलतपुरको पुल, सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको प्रवेशद्वार लगायतका योजनाको बजेट काटिएको बताए ।

उनले भारतीय तीर्थयात्रीलाई टीकापुरको बाटो हुँदै कैलाश मानसरोवर पुर्याउने अभियान सार्थक गर्न सके यस क्षेत्रको मुहार फेरिने कुरामा शंका नरहेको बताए ।

संघले खड्ग स्मृति सम्मान २०७७ बाट पूराना ब्यवशायी भीमबहादुर ठकुल्लालाई सम्मान गरेको छ । यो सम्मान संघले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा लामो समयदेखी ब्यापार व्यवशायमा संलग्न व्यक्तिलाई प्रदान गर्दै आएको छ । सम्मानित ठकुल्ला २०४२ सालदेखी खाद्यान्न खरिद बिक्री व्यवशायमा संलग्न छन । टीकापुर नगरीका संस्थापक स्व. खड्गबहादुर सिँहको स्मृतिमा संघले सम्मानको व्यवस्था गरेको हो ।

त्यस्तै संघले कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउन अवधिको घरभाडा मिनाहा गर्ने घरधनीहरुलाई समेत सम्मान गरेको छ । सो अवसरमा आफ्नो घरमा ब्यापार व्यवशाय गर्दै आएका ब्यापारीलाई घरभाडा मिनाहा गर्ने ४२ जना घरधनी सम्मानित भएका छन ।

उद्घाटन समारोहमा नेपाली काँग्रेस कैलाली प्रदेश ख का सभापति प्रकाश शाह, नेकपाका नेता शिवदत्त उप्रेती, काँग्रेस नगर सभापति धनराज उपाध्याय, नेकपा नगर सदस्य देवेन्द्र शाह, पूर्वअध्यक्ष नरेशकुमार खत्री, आनन्द हमाल, टीकापुर जेसीजका अध्यक्ष लक्ष्मण थापा, सल्लाहकार तपेन्द्र बिष्ट, पूर्व कार्यसमितिबाट तर्क बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोह महासचिव तपेन्द्र स्वाँरले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष चक्रपाणी सापकोटाले गरेका थिए ।

बन्दसत्र स्थगित
विधान अनुसार आवश्यक गणपुरक संख्या नपुगे पछि संघको बन्द सत्र स्थगित भएको छ । महासचिव स्वाँरले माघ २७ गते दिउसो १ बजेसम्मका लागि बन्द सत्र स्थगित भएको जानकारी दिए । उनका अनुसार आगामी बन्द सत्रमा गणपुरक संख्या २५ प्रतिशत रहेको छ । संघमा ४०० सदस्य छन ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update