Hamro Patra
नरोऊ मायालुका सर्जक गायकको निधन

पोखरा, माघ १२

यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगा¥यो दिमाख
नरोऊ मायालु

Khadga Memorial And Janajagriti

गायक प्रवीण गुरुङ र गायिका बिमाकुमारी दुराको स्वरमा रहेको यो गीतका सर्जक एवं सङ्गितकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारका क्रममा आज मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धनबहादुर गायक पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरमा बस्दै आएका थिए । गायकका ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । वि.सं. २०२१ मा जन्मिएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशाला समेत चलाउँदै आएका थिए । उनी ‘लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ’ भन्नेमा विश्वास गर्थे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले वि.सं. २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय थिए ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरेका थिए तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए ।

एक दशकअघि दुई सारङ्गीबाट सुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थपेका थिए । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update