Hamro Patra
प्रतिपक्षको भूमिका आगो लगाउनु र रेलिङ भाँच्नु मात्रै हैन–देउवा
Khadga Memorial And Janajagriti

टीकापुर, ४ बैशाख
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका निर्वाह गर्नु भनेको आगो लगाउनु र रेलिङ भाँच्नु मात्रै नभएको बताएका छन ।
नेपाल प्रेस युनियन लम्की टीकापुरले आज टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले आफ्नो पार्टीले संसदमा प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए ।
उनले वर्तमान सरकारलाई निर्वाचनबाटै प्रतिस्थापन गर्ने काँग्रेसको सोच रहेको बताए ।
उनले पार्टी भित्रैबाट आफ्ना विरुद्ध प्रचारबाजी भएको बताउँदै विरोध गर्ने मात्रै नभई जोसुकैलाई पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताए ।
‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टीे सभापति लड्न पनि छुट छ ।’
उनले आगामी पार्टी अधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने बताए । उनले भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने बताए ।
उनले टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औल्याए ।
शाखाका सभापति देवानन्द न्यौपानेको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी र नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
देउवा नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको बि पि स्मृति भवनको उद्घाटनका लागि हिजो टीकापुर पुगेका हुन । उनले हिजै सो भवनको उद्घाटन गरेका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update