Hamro Patra
ठगी आरोपमा दुईजना पक्राउ

धनगढी, माघ ९
धनगढीमा कलेज सञ्चालन गरी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ का ३४ वर्षका राजाराम चौधरी र कैलारी गाउँपालिका–९, ३३ वर्षका शिवकुमार चौधरी रहेका छन ।

राजारामले गैरकानूनी रुपमा मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि सञ्चालन गरेर लामो समयदेखी विद्यार्थीलाई ठगी गर्ने गरेको पाईएको छ । शिवकुमारले राजारामलाई ठगी कार्यमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

Khadga Memorial And Janajagriti

राजारामले २०७५ मंसिर ४ गतेदेखी २०७६ भदौ ७ गतेसम्म विद्यार्थी भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४१४ रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

त्यस्तै उनले धनगढी उपमहानगरपालिका–१ की अनिता चौधरीको भारत बैंगलोरबाट उत्तीर्ण बिएससी नर्सिङकोे प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै ५ लाख ठगी गरेको पाईएको छ ।

उनले ठगी गरेको भन्दै उजुरी परेपछि प्रहरीले आज लम्कीचुहा नगरपालिका–९ धनचैयाबाट पक्राउ गरेको छ । उनी भिनाजुको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

उनले यसअघि सोही कलेजमा ११८ जना विद्यार्थीबाट ४९ लाख २८ हजार ४९५ रुपैयाँ ठगी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ । उनी उपर अभिभावकहरुले २०७३ मंसिर ९ गते उजुरी दिएका थिए ।
उनले सो घटनामा जिल्ला अदालत कैलालीको फैसला अनुसार २ महिना कैद र ३ लाख २८ हजार ४९५ रुपैयाँ जरिवाना तिरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update