Hamro Patra
वडा विभाजनको मुद्दाले टीकापुरको आठौं नगरसभा अनिश्चित

टीकापुर, माघ ९
टीकापुर नगरपालिकाको आठौं नगरसभा स्थगित भएको डेढ सातासम्म पनि पुनः सुचारु हुन सकेको छैन । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगित भएको थियो ।

नगरसभा पुनः सुचारु गर्ने प्रयास भैरहेपनि सार्थकता पाउन सकेको छैन । वडा विभाजनको मुद्दा नागरिकस्तरमा समेत पुगेको छ । वडा नं. २ का बासिन्दाले प्रस्तावको विरोधमा आन्दोलित हुने चेतावनी दिन थालेका छन । वडा विभाजनको मुद्दा पेचिलो बन्दै गएपछि नगरसभा अनिश्चित बनेको छ ।

वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो । कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए । ‘प्राविधिकको सुझाव समेत वेवास्ता गरेपछि मैले असहमति जनाएको हुँ’ उनले भने–‘यसमा कहिँ कतै राजनीतिक स्वार्थ जोडिएको छ ।’

Khadga Memorial And Janajagriti

वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले ब्लक नं. १४ लाई विभाजन गर्न खोजेपछि विवाद सुरु भएको हो । ‘टीकापुरको सबैभन्दा पूरानो बस्तीलाई टुक्र्याउने कुरा चित्त बुझेन’ उनले भने–‘वर्षौदेखी मिलेर बसेको बस्तीलाई टुक्र्याउन नहुने कुरा कार्यविधिमा स्पष्ट छ ।’

कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरुले प्रस्ताव प्रति असहमति जनाए । कार्यपालिका सदस्यहरुको असहमतिलाई वेवास्ता गर्दै सो प्रस्ताव नगरसभामा पेश गरिएको थियो ।

प्रस्ताव उपर गम्भिर छलफल नभएको विपक्षमा उभिएका वडाध्यक्षहरुको भनाई छ । वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा थारुले सबै जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी छलफल नभएको बताए । ‘गम्भिर रुपमा छलफल हुन सकेन’ उनले भने–‘सबै जातजाति र समुदायको कुरा समेटिनुपर्छ ।’

वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले आफूखुशी वडा विभाजनको प्रस्ताव पेश गरेको बताए । उनले वडा विभाजनका सबै मापदण्ड अपनाईनुपर्नेमा जोड दिए ।

कार्यदल संयोजक आचार्यले भने प्रयाप्त मात्रामा छलफल भएको दावी गरे । उनले कार्यदल गठन नै सबै जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी भएको बताए । कार्यदलमा वडा नं. २ का वडाध्यक्ष प्रकाश बुढाथोकी, कार्यपालिका सदस्यहरु सीता चौधरी, रमेश विक, डम्मर राजी, एकजना नापी कार्यालयका कर्मचारी र सदस्य सचिवमा योजना शाखाका प्रमुख नवराज जोशी सदस्य रहेका छन ।

कार्यदलले नगरसभामा वडा नं. १ लाई ४ र वडा नं. २ लाई २ वडामा विभाजन गर्ने प्रस्ताव पेश गरेको थियो । हाल नगरपालिकामा ९ वटा वडा छन । वडा नं. १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ ५० हजारको हाराहारीमा जनसंख्या छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तिमा ६४०० जनसंख्या हुनुपर्ने प्रावधान छ । जनसंख्याका आधारमा वडा नं. १ कम्तिमा ६ वडामा विभाजन गर्न सकिने देखिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाईले पारित गर्नुपर्ने उल्लेख छ । ६ जना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्यहरु नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमत समेत नपाउने देखिएको छ ।

‘हामी सहमतिको प्रयासमा छौं’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने–‘पुर्नविचार गर्ने राय आएको छ । सोही अनुसार कार्यदल र सरोकारवालाहरुसँग छलफल भैरहेको छ ।’

नगरसभाको दुईतिहाईले पारित गरेपछि सो प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्ने हुन्छ । प्रदेश सभाले समेत पास गरेपछि कार्यान्वयनका लागि संघमा पठाउने प्रावधान रहेको छ । यो नगरसभाले वडा विभाजनको प्रस्ताव पारित नगरे नगरपालिकाको आगामी निर्वाचन साविककै अवस्थामा हुने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update