Hamro Patra
प्रधानमन्त्रीले मुलुकलाई हिँसाको बाटोमा धकेलेः पहाडी

टीकापुर, माघ ८
मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्रीले मुलुकलाई हिँसाको बाटोमा धकेल्न खोजेको आरोप लगाएका छन । उनले मानवअधिकार तथा शान्ति समाज कैलालीको साधारण सभाका अवसरमा आज टीकापुरमा आयोजित असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन प्रतिगमनको सिलसिला विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले न्यायालय, सेना, प्रहरी लगायतलाई विवादमा तानेर मुलुकमा मुटभेडको अवस्था सिर्जना गर्ने काम प्रधानमन्त्रीबाटै भएको बताए । उनले प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतान्त्रिक व्यवस्थालाई साँघुरो घेरामा कैद गरेको बताए ।

उनले संसारकै उत्कृष्ठ संविधान भन्नेहरु घाँटी रेट्न उद्दत र कालो संविधान भन्नेहरु संरक्षणमा उत्रिने अवस्था आएको बताए । ‘हिजो यिनै खड्ग प्रसाद, विद्या भण्डारी, सुवास नेम्वाङले संसारकै उत्कृष्ठ संविधान भने आज घाँटी रेट्दै छन’ उनले भने–‘हिजो कालो संविधान भन्नेहरु आज संविधानको रक्षाका लागि सडकमा आएका छन ।’

Khadga Memorial And Janajagriti

उनले सर्वोच्च अदालतले प्रधानमन्त्रीले चालेको प्रतिगमनलाई रोक्ने विश्वास व्यक्त गरे । ‘यो कुनै न्यायाधिसको दक्षताको विषय मात्रै हैन । यो व्यवस्थाको रक्षाका लागि चालिने कदम हो’ उनले भने–‘सर्वोच्च अदालतले प्रतिगमनलाई रोक्ने विश्वास छ ।’

उनले पछिल्लो राजनीतिक घटनाक्रमले लोकतान्त्रिक व्यवस्थालाई बदनाम गरेर २०१७ र २०४७ मा फर्काउने षडयन्त्र भैरहेको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि मुलुक प्रतिगमनमा नफर्किने बताए । उनले राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय शक्ति समेत आकर्षित हुने सम्भावना रहेको बताए ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश साँसद उमादेवी बादीले काँग्रेस जहिले लोकतन्त्रका पक्षमा रहेको बताईन । उनले काँग्रेस र लोकतन्त्र एकाअर्काका परिपूरक जस्तै भएको बताईन । ‘काँग्रेस हिजो पनि लोकतन्त्रका पक्षमा लडेको थियो आज पनि लड्दै छ र भोलि पनि लड्नेछ’ उनले भनिन्–‘काँग्रेस लोकतन्त्र भन्दा अलग हुन सक्दैन ।’

उनले काँग्रेस संसद विघटनका विरुद्ध सडक आन्दोलनमा रहेको बताउँदै सबै लोकतन्त्रवादीहरुलाई हातेमालोका लागि आग्रह गरिन ।

जानकी गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले विगतका घटनालाई भजाएर टीकापुरमा राजनीति गर्न खोजिएको बताए । उनले टीकापुर घटना राज्यसँगको अधिकारको लडाईका क्रममा भएको बताउँदै राजनीतिक तवरबाटै निकास खोजिनुपर्ने बताए ।

‘त्यो राज्यसँग अधिकारका लागि भएको लडाई थियो’ उनले भने–‘अधिकारको लडाई कुनै व्यक्ति र जाति विशेषसँग हुँदैन ।’

समाज कैलालीका सभापति भक्त विश्वकर्माको सभापतित्वमा भएको सो समारोहमा कवि अर्जुन पराजुलीले कविता वाचन गरेका थिए भने अन्य अतिथिहरुले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update