Hamro Patra
टीकापुरको सुरक्षा व्यवस्था कडा, पाँच सय सुरक्षाकर्मी परिचालन

टीकापुर, माघ ७
टीकापुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । जनता समाजवादी पाटी (जसपा) को विरोध सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था निकै कडा पारिएको हो ।

टीकापुरमा आज सशस्त्र र नेपाल प्रहरी गरी करिव ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले कुनै अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा सतर्कता अपनाईएको बताए ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबरा आफै टीकापुर पुगेका छन । उनी थप सुरक्षाकर्मी बोकेर धनगढीबाट टीकापुर पुगेका हुन ।
संसद विघटनको विरोधमा आज जसपाले विरोध सभाको आयोजना गरेको छ । सो विरोध सभालाई पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।

भट्टराई आजै काठमाण्डौंबाट हवाई मार्ग हुँदै टीकापुर पुग्ने कार्यक्रम रहेको जसपा केन्द्रिय परिसद सदस्य हरि तिमिल्सिनाले जानकारी दिए । उनले मौषम खराबीका कारण भट्टराई आउनमा अझै केही समय लाग्ने बताए ।

यो जसपा (तत्कालिन राजपा) बाट निर्वाचित रेशमलाल चौधरीको निर्वाचन क्षेत्र हो । उनी २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा दोषी ठहर भई जेलमा छन । हालै उनी लगायत अन्य केही थारु अगुवालाई सोही घटनामा संलग्न भएको भन्दै उच्च अदालत दिपायलले पुनः दोषी ठहर गर्दै सजाय तोकेको छ ।

उच्च अदालतको फैसला पछि थारु समुदाय त्रसित बनेको छ । केही ठाउँमा फैसलाको विरोधमा कार्यक्रम समेत भएका छन । फैसला पछि भूमिगत जस्तै भएका लक्ष्मण थारुले आन्दोलनको चेतावनी दिँदै आएका छन ।

विरोध सभामा जनमास बढाउन गाउँमा उर्दी जारी गरिएको छ । स्रोतका अनुसार थारु बाहुल्य गाउँमा विरोध सभामा रेशमलाल चौधरी समेत सहभागी हुने प्रचार गरिएको छ । जसले गर्दा विरोध सभामा ठूलो संख्यामा थारु समुदायको उपस्थिति रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update