Hamro Patra
सत्ती भन्सारद्वारा चालु आवको छ महिनामै लक्ष्य भन्दा बढी राजश्व संकलन

टीकापुर, माघ ७
सत्ती भन्सार कार्यालय छ महिनामै लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । उसले चालु आर्थिक वर्षको छ महिनामै साढे आठ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

कार्यालय प्रमुख विमल शाहले चालु आर्थिक वर्षमा ६ करोड ७ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको जानकारी दिए । उनका अनुसार चोरी तस्करी नियन्त्रण र उद्योगको कच्चा पदार्थ भित्रिएका कारण राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको हो ।

Khadga Memorial And Janajagriti

उनले पछिल्लो समय इट्टा उद्योगमा प्रयोग हुने ब्रिकेट्स बढी मात्रामा भित्रिन थालेको जानकारी दिए । कार्यालयले ब्रिकेट्सबाट मात्रै दैनिक डेढदेखी दुई लाख रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ ।

कार्यालयले कपडा, हार्डबेयरका सामान, खाद्यान्न लगायतबाट समेत राजश्व संकलन अपेक्षा गरे भन्दा बढी नै हुने गरेको बताएको छ । पछिल्लो समय सिमा नाका केही खुकुलो भएसँगै भारतबाट सामान आयात हुने क्रम बढेको छ । जसले राजश्व संकलन दर बढाउनमा मद्दत पुर्याएको कार्यालय प्रमुख शाह बताउँछन ।

कार्यालय प्रमुख शाहका अनुसार चालु आर्थिक वर्षको छ महिनाको राजश्व संकलन दर क्रमिक रुपमा उकालो लागेको छ । उनका अनुसार पुस महिनामा मात्रै २६१ दशमलव ७ प्रतिशतले राजश्व संकलन वृद्धि भएको छ ।

यो कैलालीमा रहेका दुई मुख्य भन्सार कार्यालय मध्ये एक हो । लामो समय छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार कार्यालय तीन वर्षअघि मात्रै मुख्य भन्सार कार्यालय बनेको हो ।

योसँगै सरकारले २०७४ असार २० गते देशभरका पाँच छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नती गरेको थियो । सरकारको मन्त्री परिषदको निर्णयले कैलालीको सत्ती, झापाको भद्रपुर, सिराहको ठाडी, रुपन्देहीको महेशपुर र कपिलवस्तुको सुठौली छोटी भन्सारलाई मूल भन्सार बनाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update