Hamro Patra
टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण

टीकापुर, माघ ४

नागरिकस्तरबाट संकलन गरिएको सहयोगबाट टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले आज एक कार्यक्रमका बिच अस्पताललाई शव बाहन हस्तान्तरण गरेको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन् ।

शव बाहनको चावी हस्तान्तरण गर्दै समूहका संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा समेत टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

यो अभियानबाट आफू हौसिएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत् शव बाहन खरिदका लागि आर्थिक सहयोगको घोषणा गर्दा विश्वभरि छरिएर रहेका धेरै व्यक्तिहरुले साथ दिएको जानकारी दिए । ‘सहयोग रकम अब पुग्यो भन्नु पर्ने अवस्था आयो’ उनले भने ‘यो टीकापुरप्रति तमाम् शुभचिन्तकहरुले देखाएको माया हो ।’  उनले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सामाजिक कार्यमा सहयोगका लागि आग्रह गरे ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले शव बाहन खरिदका लागि अभियान थालेकोमा टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशनप्रति आभार व्यक्त गरे । उनले मानवीय सेवामा देखाएको सदासयताले थप जिम्मेवार बनाएको बताए ।

उनले अस्पताल सबैको सामुहिक प्रयासबाट सञ्चालन गर्ने आफ्नो उद्देश्य रहेको र यसका लागि हातेमालो गर्न आग्रह गरे । उनले स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औंल्याए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update