Hamro Patra
माघमै प्रशस्त लामखुट्टे

परमानन्द पाण्डे
टीकापुर, माघ १ 

माघ महिना लागेसँगै देशका पहाडी र तराईंका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । साँझ, विहान कठ्यांग्रिने चिसो छ । दिउँसो मधुर घाम । सर्वसाधारणले माघको चिसो महशुस गरिरहेका बेला चिसोयाममा प्रायः नदेखिने लामखुट्टे भने ज्यूँका त्यूँ छन् । यस्तो जाडोमा समेत तराईंमा मात्र होइन पहाडी जिल्लामा समेत लामखुट्टे प्रशस्त देख्न पाइन्छ ।

प्रायः कार्तिक महिनादेखि नै नदेखिने लामखुट्टे पछिल्ला केही वर्ष यता भने वर्षैभरि देखिने गरेका छन् । माघमा समेत ठूल्ठूला लामखुट्टे देखिन थालेपछि टीकापुर नगरपालिका वडा ४ का ८४ वर्षीय सुकलाल चौधरी अचम्ममा परे । कार्तिक लागेसँगै लामखुट्टेहरु आफै हराएर जाने गरेकोमा अचेल वर्षैभरि लामखुट्टे देख्दा उनलाई अचम्म लागेको हो ।

Khadga Memorial And Janajagriti

‘पहिले यस्तो हुन्थेन, कार्तिक लाग्यो कि लामखुट्टे हराएर जान्थे’ चौधरीले विगत सम्झिए ‘अहिले वर्षैभरि लामखुट्टे छन् । त्यो बेला भन्दा ठूला पनि छन् ।’ तराईको गर्मीसँगै औलो जस्ता रोगहरु देखेका उनलाई चिसोमा पनि लामखुट्टे देखिँदा अनौठो लाग्छ । पहिले भन्दा चिसो पनि कम भएको उनले बताए । ‘महिना दिनसम्म पनि घाम देख्न पाइन्थेन’ चौधरीले भने ‘हुस्सु लाग्थ्यो, शित पथ्र्यो तर अब त्यो सबै कम हुँदै गएको छ ।’

मौसममा आएको परिवर्तनका कारण तराई क्षेत्रमा हुने लामखुट्टेहरु जाडोलाई समेत पचाउँदै आएका छन् । जाडोयाममा समेत जीवन धान्न सक्ने भएका लामखुट्टेले जन्माउने सन्तान जाडोमा बाँच्ने गरेको विज्ञहरु बताउँछन् । विषादीहरुको प्रयोगका कारण जीवहरुको जीवनचक्रमा समेत परिवर्तन आएको वातावरण विद् समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावल बताउँछन् ।

‘विषादीहरुको प्रयोगले यो समस्या आएको हो, विषादीको प्रयोगपछि पनि बाँचेको जीव नयाँ वातावरणमा हुर्किन सक्छ’ रावलले भने ‘अत्याधिक रसायनहरुको प्रयोगले गर्दा तराईमा पछिल्ला केही वर्षयता लामखुट्टे र शंखेकिरा जाडोमा पनि सक्रिय देखिन्छन् ।’ वातावरणको सन्तुलन कायम राख्न नसके यस्ता समस्याहरु बढ्दै जाने उनको तर्क छ ।

सामान्यतया गर्मीयाममा बच्चा जन्माउने, बढी सक्रिय हुने लामखुट्टेले जाडोलाई पचाउँदै गएका कारण पनि जाडोयाम र केही चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टे देखिएको इपिडिमियोलजी महाशाखा काठमाडौंमा कार्यरत डाक्टर नरेन्द्रकुमार खनालले बताए । ‘वातावरणीय सन्तुलन बिग्रिएका कारण समेत जाडोमा लामखुट्टे देखिएका हुन्’ खनालले भने ‘यसको नियन्त्रणका लागि वातावरणीय प्रभावमा ध्यान दिन जरुरी हुन्छ ।’

सरुवा रोगहरु सार्नमा सक्रिय मानिने लामखुट्टे जाडोमा समेत सक्रिय हुने गरेको बताइन्छ । जसको उदाहरण हो, लामखुट्टेबाट सर्ने डेंगु रोग जाडोमा समेत देखिनु । डेंगु संक्रमित लामखुट्टेले जन्माउने सन्तानले डेंगु सार्न सक्ने हुँदा जाडोमा समेत लामखुट्टेको प्रभाव देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर हेमन्त ओझाले बताए । उनले जाडोमा लामखुट्टे सक्रिय हुँदैन भनेर ढुक्क बस्ने अवस्था नरहेको बताए ।

चिसो मौसममा लामखुट्टे कति सक्रिय हुनसक्छन् र रोग सार्छन् भन्ने बारेमा थप अध्ययन हुनुपर्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update